काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद् र समितिका बैठकबाट तर्किने गरेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताएका हुन्।
उनले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने पनि प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गरे। उनले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने पनि बताए। ‘मन्त्रीहरु मेरो बाहिर छ भनेर सकभर यहाँबाट उम्कनै खोज्ने गर्नुहुन्छ। त्यो प्रवृत्ति संसदीय प्रणालीको राम्रो होइन। संसदीय पक्षधरता हौं भन्ने हो भने पक्षधरताले संसद्लाई बलियो बनाउने हो, उनले भने, रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने? संसद्मा आएर जवाफ दिनुपरे भाग्ने? यो तरिका राम्रो होइन। यो कुनै
एकजना मन्त्रीको कुरा होइन प्रवृत्तिजस्तो भएको छ।’
संसद् र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको उनको भनाइ थियो।