काठमाडौँ — योजना निर्माण र तीनको प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि राष्ट्रिय योजना आयोगको पुनर्संरचना आवश्यक रहेको र त्यसका लागि आफूहरुले काम गरिरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताएका छन्।
योजना छनोट, निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकनलगायतमा देखिएका समस्या समाधान गरी आयोगलाई बलियो र प्रभावकारी निकायका रुपमा स्थापित गर्नका लागि यसको संरचनामा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। १६औं पञ्चवर्षीय योजना तर्जुमाको तयारीको क्रममा मंगलबार आयोगले सञ्चारकर्मीहरुसँग गरेको अन्तर्क्रियामा उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।
‘हाम्रा धेरै समस्या तथा चुनौतिहरु संरचनात्मक खालका छन्। तिनको निराकरणका लागि पनि पुनर्संरचना आवश्यक छ। यसका लागि ऐन संशोधनको क्रममा छ,’ उनले भने। निर्माणको क्रममा रहेको १६औं पञ्चवर्षिय योजनाले ‘डिजिटल डाटाबेस र इगभर्नेन्स’ प्राथमिकता पाउने उपाध्यक्ष श्रेष्ठले बताए। प्राकृतिक साधन स्रोतको अधिकतम उपयोग गर्न, रोजगारी सिर्जना गर्न र रेमिट्यान्समाथिको परनिर्भरता कम गर्ने कार्यक्रम पनि आगामी योजनामा समेटिने उनले बताए। विगतका योजनाहरुमा आर्थिक लक्ष्य पूरा हुन नसकेपनि सामाजिक लक्ष्यमा सफलता हासिल भएको उनको दाबी थियो।