काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्। मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई सात दिनभित्र ९ बुँदे स्पष्टीकरण बुझाउन निर्देशन दिएका हुन्।
अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ।
यस्तै, उनीविरुद्ध सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीतिविरुद्ध काम गरेको र अभिव्यक्तिहरू दिइएको आरोप छ।
पर्यटनमन्त्री किरातीले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रूपमा छुट्याउने नीतिविपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएकोसहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकोप्टर दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन्।
