काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन्। सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अप्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताए। उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उनको दाबी छ।
उनले जलहरीको विषयमा निष्पक्षता कायम गरी अनुसन्धान हुनुपर्ने बताए। उनले जलहरी राख्नुको ध्येय स्वर्ण क्षरमा आफ्नो नाम लेखाउनु रहेको बताए। जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायतको नाम स्वर्ण क्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताए।
उनले भने, ‘केपी ओलीजीको सरकारले गरेको थियो, त्यो निर्णय आफैँमा वस्तुगत थिएन। किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए। २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो। अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ। अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ। दाताहरूले दिएको पैसा कति छ? त्यो पनि चाहिन्छ। बदनियत पूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ।
सांसद दाहालले जलहरी बनाउन दाताहरूले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।