संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसद्‍मा पेस हुन्छ : मन्त्री मोदी - Chaitanya News
  • 2026-11-16
  • 10:23:01
  • सोमबार,मंसिर ०१, २०८३
  • संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसद्‍मा पेस हुन्छ : मन्त्री मोदी

    संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसद्‍मा पेस हुन्छ : मन्त्री मोदी

    काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसद्‍मा पेस गर्ने बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

    मन्त्री मोदीले सरकारमा सत्तारुढ दलहरु फेरबदल भएका कारण ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको स्पष्टीकरणसमेत दिएका थिए।

    एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुको सहकार्यमा बनेको समीकरण परिवर्तन भई कांग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसद्‍मा पेस गर्ने काममा ढिला हुन गएको उनको भनाइ थियो।

    मन्त्री मोदीले सो ऐनको मस्यौदामा देखिएको समस्या पनि यही असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्रीसहितको उच्चस्तरीय छलफलबाट टुंगो लाग्ने योजना रहेको जानकारी गराए। उनले सो ऐनको मस्यौदा तयार पार्न सम्वद्ध सबै पक्षको सुझाव लिइएको पनि बताए।

    ‘मैले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै दुई वटा कुराको मिसनमा लागें । एउटा, संघीय निजामती सेवा ऐन ल्याउने। यो कुरा सुन्दासुन्दा म सुरुदेखि नै लागें। त्यहाँ विभिन्न पूर्वप्रधानमन्त्रीहरुसँग, पूर्वमन्त्रीहरुसँग, पूर्व प्रशासक, संवैधानिक निकायहरुसँग र विभिन्न ट्रेड युनियनहरुसँग छलफल गरेर त्यसको मस्यौदा ड्राफ्ट गरेर कानुन र अर्थ मन्त्रालयमा पठाएका छौं। त्यसकारण त्यो किन रोकियो भनेर जो प्रश्न गर्नु भएको छ, त्यो चाहिँ सम्बन्धित मन्त्रालयमा ताकेता गरिरहेका छौं, मन्त्री मोदीले भने।

    संघीय निजामती सेवा ऐनको बारेमा छलफल गरेर कहीँ समस्या भए समाधानका लागि उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको सहजीकरण कमिटीले असार १५, १६, १७ गते भित्र टुंगो लगाउने पनि उनले बताएका छन्। जुन अब चाँडै नै यही सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको उनले बताए।

    मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालय मातहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिएका थिए। तर कर्मचारी सरुवा, बढुवामा हुने भ्रष्टाचार नियन्त्रण आफ्नो मन्त्रालय एक्लैले गर्न नसक्ने पनि उनको भनाइ थियो। सबै मन्त्रालयको सहकार्यमा मात्रै उक्त काम नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

    यस क्रममा मन्त्री भनेका छन्, ‘कर्मचारी सरुवा, बढुवामा भ्रष्टाचारको कुराहरु कहिलेकाहीँ सुन्छु। हामी भ्रष्टाचारसँग जोडिएका कयौं कुराहरु हामीलाई भन्नुस्। हामीले थाहा पाउँदा चाहीँ कारबाही गर्छौं भनेर पटकपटक सार्वजनिक रुपमै भनेको छु। यो मेरो मात्रै विषयको कुरा होइन। विभिन्न तहका कर्मचारीहरु खटाउने क्रममा अरु मन्त्रालयहरुले पनि एउटा प्रतिबद्धता जाहेर गर्नुपर्छ कि, हामी यो देशको भ्रष्टाचार निर्मूल गर्नका निम्ति सबैको हातोमालो चाहिन्छ। सामान्य प्रशासन मन्त्रालय एक्लैले गरेर हुँदैन। र, म विश्वास व्यक्त गर्न चाहन्छु, हाम्रो मन्त्रालयमा हामीसँग कोही जोडिएको छ वा मेरो नामबाट कसैले गरेको छ भने जानकारी पाउँ। हामी कारबाही अगाडि बढाउँछौं।