काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतको आदेश मान्दिनँ भन्न नमिल्ने बताएका छन्।
आईतवार प्रतिनिधि सभा बैठकपछि सांसदसमेत रहेका केसीले बजेटले भेदभाव र अन्याय गरेको पनि बताए। उनले भने, ‘बालेनले केही सही गर्यो भन्दैमा अदालतको निर्णय त मान्दिनँ भन्न भएन नि। नगरप्रमुखले त्यसो भन्न मिलेन नि। त्यसो भए कसले मान्ने? ’
जे पनि गर्न मिल्ने नेपालमा बजेट संशोधन गर्न मिल्दैन भन्नु अचम्मको पक्ष भएको भन्दै बजेट भेदभाव र अन्यायले भरिएको सांसद केसीले बताए। उनले भने ‘ मेरो कुलो बनेन, स्कुल बनेन, बाटो बनेन, भनेर हैरान पारेका छन्। यहाँ भान्सेहरुले आआफ्नो क्षेत्रमा बजेट राखे। जसको शक्ति, बल छ। उसले आफ्नो क्षेत्र, जिल्लामा लगानी गर्छ। जहाँ नियमपूर्वक काम गर्न पनि छ। त्यहाँ उनीहरुले भेदभाव गर्छन्। बजेट पास हुन कठिन नै छ। बजेटको निहुँमा अहिले कांग्रेस र एमाले पनि एक ठाउँमा भएका छन्। ४–५ महिना यीनीहरु एक अर्कालाई सिध्याउनेमा लागे। अब यी साना पार्टीले रजाई गरे हामीले तिनीहरुले दिएको मात्रखाएर बस्न पर्नेभयो भनेर फेरि उनीहरुको चोचो मोचो मिलाई राखेका छन्। त्यसकारणले के गर्छन् भनेर भन्न सकिन्न।
सांसद केसीले नेपालमा देशको सार्वभौम सत्ता विक्री गरेर खानेहरु रहेको जिकिर गर्दै छिमेकीको रणनीति बुझेर काम गर्नुपर्ने पनि बताए।