पर्वत– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताएका छन्।
नेपाल प्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको जनाए।
उनले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै संकटमा पर्ने दाबी गरे। पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिंगो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पारे ।सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अंकुश नलगाइने जनाए।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबीसमेत गरे।
प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको गुनासो गरे। उनले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको संकुचनमा नलाग्न आग्रह गरे।