काठमाडौं– गृह मन्त्रालयले सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी गरेको छ।
गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भोलि (सोमवार) सचिवस्तरीय निर्णयले बर्खास्त गर्ने तयारी गरेको छ। ‘सचिवज्यू बाहिर हुनुहुन्थ्यो। उहाँ आउनुभएको छ। अब प्रकृयामा जान्छ,’ स्रोतले लोकान्तरलाई भन्यो।
यसअघि प्रहरीले केसीलाई जागिरबाट बर्खास्त गर्न गृहमन्त्रालय पत्र पठाइएको थियो। ‘अघिल्लो साता हामीले नोकरीबाट निकाल्न मन्त्रालयलाई पत्र पठाएका थियौं,’ प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भने।
निलम्बन भएको ६ महिनाभित्र मुद्दाको टुङ्गो लगाउनु पर्ने वा जागिरबाट निकाल्नु पर्ने कानूनी व्यवस्था गरेका प्रवक्ता कडायतले बताए।
निलम्बित डीएसपी केसी शुक्रवार र आइतवार आफ्नो निलम्बन फुकवा गर्न र बर्खास्त नगर्न दबाब दिन गृहमन्त्रालयमा समेत गएका थिए।
उनलाई मन्त्रालयले २०७९ पुष १४ गते निलम्बन गरेको थियो। केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो।
सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए। केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो।
पटक–पटक विवादमा मुछिएका डीएसपी केसीले २०७९ साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए।
डिएसपी केसी निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणनिकट भएकाले सत्ताको आडमा मनपरी गरेको र मनपरी गर्नेलाई छुट दिएको आरोप लाग्दै आएको थियो।