काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले सरकारले सहकारी नियमनका लागि काम गरिरहेको बताए।
मन्त्री श्रेष्ठले भने– ‘हाम्रो एक जना माननीयले सहकारीको समस्याको बारेमा ध्यानाकर्षण गराउनुभयो। निश्चित हो, अहिले हाम्रो सिआइवीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ। अहिले सहकारीको ठुलो समस्या छ। यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको छ। यससम्बन्धी एउटा कमिटी पनि गठन गरेको छ। यस सम्बन्धमा समाधानका उपाय निकाल्नका निम्ति हामी पहल गर्दैछौँ। केही अनियमितता छन्, केही तरलता अभावका कारण भएका समस्याहरू पनि देखा परेका छन्।
उनले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको बताए। यस्तै ट्राफिक प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा सरकार चिन्तनशील रहेको बताए। उनले नेपाल प्रहरीका साथै निजामती कर्मचारीलाई योग र ध्यान गराउने कार्य अघि बढाउन लागेको जानकारी गराए।