ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई साथ दिन खोजीरहेका छन : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 10:02:08
  • सोमबार,मंसिर ०१, २०८३
  • ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई साथ दिन खोजीरहेका छन : अध्यक्ष नेपाल

    ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई साथ दिन खोजीरहेका छन :  अध्यक्ष नेपाल

    काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसको सरकारलाई साथ दिन चाहेकोमा अध्यक्ष नेपालले आपत्ति जनाएका थिए।

    ुकेपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्,’ नेपालले भने।

    यस क्रममा उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको पनि दाबी गरेका थिए।

    उनले भनेका छन्, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाइँहरूले सुनिरहनुभएको छ। अर्थात् हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकताबद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, विस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाइँहरूले गर्नुभयो भन्नुपर्ने हो।

    अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको पनि आरोप लगाएका थिए।