बालेनले भने : प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा काम गर्दै छौँ - Chaitanya News
  • 2026-11-16
  • 10:03:08
  • सोमबार,मंसिर ०१, २०८३
  • बालेनले भने : प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा काम गर्दै छौँ

    बालेनले भने : प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा काम गर्दै छौँ

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गर्दै आएको बताएका छन्। उनले शुक्रबार बुक प्रि फ्राइडे कार्यक्रम अन्तर्गत विद्यालयहरूमा अनुगमन गरेपछि उनले यस्तो बताएका हुन्।

    ‘पहिलो चरणमा शिक्षामा सीप कार्यक्रम समापनको क्रममा छ, शिक्षामा सीप कार्यक्रमको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दा कक्षा कोठामा पढाइने विभिन्न साध्य (सिद्धान्त)हरूको उपयोगिता थाहा पाएको, आफूमा व्यावहारिक ज्ञानले गर्दा आत्मविश्वास बढेको सँगसँगै भविष्यमा विभिन्न करियरका विकल्पहरूको बारेमा अवगत भएको जनाए,’उनले भने।

    उनले सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्ने बताए। ‘हामी विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गरिरहेका छौं, यसका लागि पाठ्यक्रम आधार हो, सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्छौं,’उनले भने।

    उनका अनुसार भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा आज (शुक्रवार) सञ्चालन हुने ‘शिक्षामा सीप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल) लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्।

    कागजको प्रयोगबाट विद्यार्थीहरूले चराको मोडेल (नमूना) निर्माण गर्दै विभिन्न प्रजातिको चरा चिन्न सक्ने र भन्न सक्ने सीप सिकिरहेका छन्। बुक प्रि फ्राइडे कार्यक्रमअन्तर्गत प्राथमिक तहको कक्षा ४ का ३६ जना विद्यार्थी ९ समूहमा चराको नमूना चित्र हेरी कोलाजमा अभ्यास गर्दै थिए। कोलाजद्वारा एउटा चराको नमुना निर्माण गर्न करिब ९० मिनेट समय लागेको थियो।

    त्यस क्रममा विद्यार्थीहरूको सहभागिता उत्साह जनक रहेको पाएको उनले जानकारी दिए। ‘उनीहरू आ–आफ्नो समूहमा आफूले देखेका चराहरूको नाम, आकार र रङ्गका बारेमा छलफल चरा चिन्ने ज्ञान अभ्यास गर्दै थिए, कार्यक्रमका लागि महानगरले अघिल्लो हप्ता नै शिक्षकहरूलाई तालिम दिएको थियो,’उनले भने।

    उनका अनुसार कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पनि कृषि तथा सहरी खेती, फेसन डिजाइन तथा कपडा निर्माण बारे तालिम सञ्चालन भइरहेका छन्।

    ‘कृषि तथा सहरी खेतीको बारेमा तालिम लिने विद्यार्थीहरू यो शुक्रवार स्थलगत नर्सरी अवलोकनको लागि गए, विद्यालयमा ६ कक्षामा अध्ययनरत विद्यार्थीहरू नेपाल भाषाको प्रशिक्षकहरूसँग बालाजु गए,’उनले भने। निबन्ध लेखन, हस्तकला लेखन प्रतियोगिता पनि भएको उनले जानकारी दिए।