कांग्रेस एमालेको सरकार तत्काल बन्ने अवस्था देखिदैन : मीन विश्वकर्मा - Chaitanya News
  • 2026-11-16
  • 09:32:15
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस एमालेको सरकार तत्काल बन्ने अवस्था देखिदैन : मीन विश्वकर्मा

    कांग्रेस एमालेको सरकार तत्काल बन्ने अवस्था देखिदैन : मीन विश्वकर्मा

    काठमाडौं–  नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस र नेकपा एमालेको सरकार तत्काल बन्ने अवस्था नरहेको बताएका छन्।

    कांग्रेस र एमालेको समीकरण बनेर वर्तमान सरकारको विकल्प खोज्न लागिएको चर्चाकाबीच नेता विश्वकर्माको उक्त भनाइ आएको हो।

    ‘कांग्रेस एमालेको तत्काल सरकार बन्ने अवस्था देखिदैन,’ विश्वकर्माले अनलाइनखबरसँग भने, ‘एमालेसँग मिलेर सरकार बनाउनुपर्ने अहिले कुनै कारण छैन । कांग्रेसले पाउने जति मन्त्रालय पाइरहेकै छ ।’

    कांग्रेस र एमालेका नेताहरु सत्ता समीकरणका लागि संवादमा गरिरहेको चर्चामा आएको छ। सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले पार्टीको घोषित निर्णय अनुसार संवाद नभएको बताए। ‘फुर्सद भएका र मन्त्री हुन नपाएकाहरु त लागिहाल्छन् नि। कोही लागेको भएपनि पार्टीबाट निर्णय भएर लागेका होइनन्,’ विश्वकर्माले भने।

    दुई ठुला दलको सरकार बनाउने र प्रधानमन्त्रीमा देउवालाई एमालेले समर्थन गर्ने गरि भित्रि संवाद भएको कांग्रेसकै एक नेताले पुष्टि गरे। उनले भने, ‘एमालेका केही नेता त यो सरकार परिवर्तन गर्नका लागि लागिरहेकै हुन्। उनीहरुले कांग्रेसका दोस्रो तहका नेताहरुसँग संवाद बढाइरहेका छन्।

    कांग्रेसभित्र पछिल्लो समय माओवादीलाई बोकेर हिँड्न नहुने मत बढिरहेको ती नेताले बताए। ‘यो समीकरण जोगाउन १र२ जनालाई इच्छा हुनसक्ला। अब माओवादीको साथ छोड्न पर्ने मत बढिरहेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।

    सभापति देउवा उपचारका लागि सिंगापुरमा छन्। असार ६ को राति फर्कने भनिए पनि देउवा आइसकेका छैनन्। देउवाको सिंगापुर बसाइँ लम्बिनुमा कतिपयले नयाँ सत्ता समीकरणसँग जोडेका छन्। कांग्रेस गठबन्धनको पक्षमा प्रतिवद्ध रहेको नेता विश्वकर्मा बताउँछन्। ‘समाजवादी मोर्चा भित्रैबाट प्रधानमन्त्रीको विरोध भएको छ। तर, कांग्रेसबाट विरोध भएको छैन,’ विश्वकर्माले भने।

    सत्ता समीकरण फेरबदलका लागि देउवाको बसाइँ लम्बिएको भनाइमा सत्यता नरहेको विश्वकर्मा बताए । स्वास्थ्य उपचारका लागि नै थप समय बस्न परेको आफूले जानकारी उनले बताए।