काठमाडौं– पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्।
आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउँदै उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन्।
निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको तर निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको बताए।
‘एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन,’ पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो? जुन आमाको दुध आउँदैन। आमाको दुध चुसिराख्ने? त्यो आमाको रगत चुसे जस्तै हो। नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो। आज त्यस्तै भइरहेको छ।’
ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उनले बताए।
वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाइ उडानबाट निगमलाई नाफा नभएको बताए।
एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर काम गर्न नदिइएको आरोप उनले लगाए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको भट्टराईले बताए।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै उनले विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए। पोखरा, भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको उनले बताए।