उच्च कोलेस्ट्रोल अहिलेको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको छ। युवाहरू पनि कोलेस्ट्रोलबाट प्रभावित भएको देखिन्छ। उच्च कोलेस्ट्रोल कुनै व्यक्तिमा धेरै दिनसम्म रह्यो भने मुटुको रगत नलीमा जमेर यसले हार्टअट्याक निम्त्याउने जोखिम हुन्छ। मस्तिष्कको रक्त नलीमा पनि जम्मा भएर ब्रेनह्याब्रेज हुने जोखिम रहन्छ। जति दिनसम्म रगतमा कोलेस्ट्रोलको लेबल सामान्य भन्दा बढी हुन्छ त्यति नै यसले बढी जोखिम निम्त्याउने गर्छ। प्राय जसो अवस्थामा कोलेस्ट्रोल नियन्त्रण राख्न औषधि प्रयोग गरिन्छ। औषधि लामो समयसम्म नछुटाइकल चिकित्सकको परामर्श अनुसार खाने गर्नुपर्छ। खाना नै उच्च कोलेस्ट्रोलको प्रमुख कारण मानिन्छ। खानामा रहेको बोसोयुक्त चिजले रगतमा गएर खराब कोलेस्ट्रोल निर्माण गर्छ।
कुनै व्यक्तिले कोलेस्ट्रोलका बारेमा राम्रोसँग बुझेर खानालाई नियन्त्रण गर्दा औषधिको मात्रा घटाउन सक्छ। औषधि बन्द गर्न सक्छ। खानपानमा ध्यान दिँदा औषधि नै खान नपर्ने अवस्था आउँछ। कोलेस्ट्रोल भएका मानिसले चिकित्सकको सल्लाह अनुसार खानपानको आनीबानीमा परिवर्तन गर्नुपर्छ। कोलेस्ट्रोल नियन्त्रण गर्न मांसाहारी खाने कुरामा नियन्त्रण गर्नुपर्छ। रातो मासुको धेरै प्रयोग गर्नु हुँदैन। रातो मासु बढी बोसोयुक्त हुन्छ। कुखुराको मासुले पनि कोलेस्ट्रोल बढाउँछ। अण्डाको पहेँलो भागले पनि कोलेस्ट्रोल बढाउँछ। मांसाहारी खानेकुरा जति सकिन्छ त्यति घटाउनुपर्छ। बन्दै गर्न सकिन्छ भने बन्द गरे पनि हुन्छ।
रातो मासु खानै परे महिनामा एक पटक खाने। सेतो मासु पनि हप्तामा एक पटक भन्दा कम खाने गर्नुपर्छ। मांसाहारी खाना घर भन्दा बाहिर खाँदा झन् हानिकारक हुन्छ। होटेलमा थप चिल्लो पारेर खाना तयार पारिन्छ। घरमा बनाउँदा त झनै बोसोको मात्रा घटाउन सकिन्छ। वनस्पति घ्यूको प्रयोग मुटुका लागि खतरापूर्ण हुन्छ। चाउमिन, मम लगायतका खाने कुरामा पनि जोड् गर्नु हुँदैन। फास्ट फुड र जंगफुडको प्रयोग पनि एकदम कम गर्नुपर्छ। प्याकेटमा लामो समयसम्म राख्न प्रयोग हुने क्यामिकलले कोलेस्ट्रोल बढाउने गर्छ। ससेजमा कस्तो मासु प्रयोग भएको हुन्छ हामीलाई थाहा हुँदैन। त्यसैले यस्ता खाले मासुको प्रयोग पनि गर्नु हुँदैन। जति सक्यो त्यति तेलको कम प्रयोग गर्नुपर्छ। धेरै तेलको प्रयोगले राम्रो कोलेस्ट्रोल पनि खराब कोलेस्ट्रोलमा परिणत हुने जोखिम हुन्छ।
माछा भने धेरै तेलमा नपकाएर कुनै अरू माध्यमले पकायो भने त्यो त्यति नराम्रो मानिँदैन। मांशाहारीमात्र नभएर शाकाहारी खाने कुराले पनि कोलेस्ट्रोल बढाउँछ। दूध र दूध जन्य पदार्थले पनि कोलेस्ट्रोल बढाउँछ। दूध, बटर, मक्खनलगायत चिजले कोलेस्ट्रोल बढाउँछ। दही र महिमा फ्याटको मात्र कम भए पनि अरू चिजमा भने फ्याट बढी हुन्छ। चियामा पनि दूध चिया कति सेवन गरिन्छ भन्ने कुराले कोलेस्ट्रोल बढ्ने कुरामा अर्थ राख्छ। हामीले फाइबरयुक्त खाने कुरा सागसब्जी, गेडागुडी र रेसादार भएको खाने कुरा खायौं भने आन्द्रामा गएर कोलेस्ट्रोल घटाउँछ। कोलेस्ट्रोल बढ्ने खानासँगै हामीले सलाद, सागलगायत खानेकुरा खायौं भने हाम्रो कोलेस्ट्रोल नियन्त्रणमा आउन सक्छ। फलफूल, सागपातले राम्रो कोलेस्ट्रोलसमेत बढाउँछ।
शारीरिक अभ्यास र व्यायाम गरेर पनि राम्रो कोलेस्ट्रोल बढाउन सकिन्छ। कोलेस्ट्रोल भएका मानिसले चुरोटको सेवन गर्नु हुँदैन। चुरोटको सेवन गर्दा ब्याड कोलेस्ट्रोल बढ्ने जोखिम हुन्छ। यसको सेवनले हार्टअट्याक हुने जोखिम हुन्छ। पदिरापान पनि गर्नु हुँदैन। मोटोपन भएमा तौल घटाउनु पर्छ। तौल घटाउँदा पनि कोलेस्ट्रोल नियन्त्रण हुन्छ। यी र यस्ता उपाय अपनाउँदा कोलेस्ट्रोल ९० प्रतिशत भन्दा बढी नियन्त्रण हुन्छ। यति गर्दा पनि कोलेस्ट्रोल घटेन भने जेनेटिक कारणले पनि कोलेस्ट्रोल बढेको हुनसक्छ। जेनेटिक कारणले बढ्ने कोलेस्ट्रोल झन् जोखिमपूर्ण हुन्छ। यसले हार्टअट्याक बढ्ने जोखिम झन् बढी हुन्छ। यस्ता व्यक्तिले लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्छ।
Post Views: 81