काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ।
बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
काठमाडौं महानगरपालिका–९ मा नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै महानगरपालिकाको नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। प्राधिकरणले ३२ जेठमा विमानस्थल क्षेत्रमा प्रवेश गरी नगर प्रहरीले फेन्सिङ तार काट्नु नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरीत रहेको र यो काममा मेयर बालेन शाहको पनि संलग्नता देखिएको भन्दै स्पष्टीकरण माग गरेको थियो।
१ असारमा बालेन शाहलाई पत्र लेखी प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन को दफा ७ को कसुरमा किन कारबाही नगर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन बालेनलाई आग्रह गरेको थियो।
तर बालेनले प्राधिकरणको उक्त स्पष्टीकरण पत्र कार्यान्वयन नगर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।