काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२–०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको दावी गर्दै उल्टो संकटको चक्रव्यूहमा फसेको बताएका छन्।
आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि कमजोरी सच्याउँदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए। १७ वर्षदेखि राजनीतिक वर्चस्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,विसङ्गति, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधीनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरूले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे।
धर्म, संस्कृति र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसँग नहुनु विडम्बना भएको उनको तर्क छ। शक्ति,स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिँड्नेहरु गन्तव्यमा पुग्ने बताए।
जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत स्पष्ट पारे। कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का,महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर सिवाकोटी ,राजकुमार खड्का,श्याम घिमिरे ,दिनेश नापित लगायतले बोलेका थिए।