कोशी प्रदेश सरकारले पठायो बाढी पीडितलाई प्रतिमृतक एक लाखका दरले राहत - Chaitanya News
  • 2026-11-16
  • 09:11:27
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेश सरकारले पठायो बाढी पीडितलाई प्रतिमृतक एक लाखका दरले राहत

    कोशी प्रदेश सरकारले पठायो बाढी पीडितलाई प्रतिमृतक एक लाखका दरले राहत

    विराटनगर– पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले प्रतिमृतक एक लाखका दरले राहत रकम पठाएको छ।

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो।

    सोमबार बसेको कोशीको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

    त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त सखुवासभाका १७ वटा घर पुनर्निर्माणका लागि राहतस्वरुप सात लाख ५० हजार रुपैयाँ पठाइएको छ। जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनर्निर्माणका लागि प्रतिघर ५० हजार र आंशिक क्षति भएका चार वटा घर पुनर्निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो।

    उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय संखुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले बताए।