काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए।
नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरूका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए। उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए। उनले सरकारका समस्या, सुविधाहरू र सरकारले जनतालाई दिने सेवाहरूको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।
नेता पुनले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए। उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधैँ हेप्छन् भन्ने भाष्य रहेको बताए।
यस्तै समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछाप गर्न खोजेको बताइन्। उनले राहदानी लिनको लागि विभागमा लाइन हट्यो भनेपनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको बताइन्।
सांसद बरालले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार भए, नीतिगत वा अन्य सहयोग गर्न समिति तयार रहेको बताइन्। उनले सरकारले भएका समस्यालाई घुमाउरो बाटोबाट ढाकछोप गरेर सेवा प्रवाहलाई रोक्ने काम गर्न नहुने बताइन्।