काठमाडौं– नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताए। नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।
क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौंदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।
समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको सांसद भण्डारीले पटकपटक दोहोर्याए । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सके मात्रै पनि नेपाल अघि बढ्ने उनले स्मरण गराए।