काठमाडौँ– प्रतिनिधिसभा सदस्य जावेदा खातुन जागाले नागरिकताविहीन युवाहरूले सामूहिक आत्महत्या गर्ने घोषणा गरेको बताएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले मेचीदेखि महाकालीका लाखौँ नागरिकताविहीन युवाहरूले गरेको आत्महत्याको घोषणाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।
काठमाडौँको माइतीघर मण्डलामा आफ्नो देशको नागरिकता पाऊँ भनी आन्दोलनरत युवाहरूमाथि प्रहरीले मंगलबार गरेको बल प्रयोगको उनले विरोध जनाइन्। ‘आफ्नो देशमा हुर्केर आधा उमेर बिताइसक्दा पनि अनागरिक भएर बाँच्नु परेकाले उनीहरू ठूलो पीडामा छन्,’ उनले भनिन्, ‘उच्च शिक्षा हासिल गर्न नसकेको पीडा, कोरोना खोप लगाउन नसकेको पीडा, बेरोजगार हुनुपरेको पीडा र संविधानले मौलिक हकका रूपमा दिएको पीडा सहन नसकेर आज युवाहरू आत्महत्या गरिरहेका छन्।’
उनले आक्रोशित हुँदै अगाडि भनिन्, ‘सामूहिक रूपमा आत्महत्या गर्ने घोषणा गरेका छन्। मेचीदेखि महाकालीसम्मका लाखौँ युवाले आत्महत्या गरे भने के हुन्छ। सरकार यसप्रति गम्भीर हुन आवश्यक छ।’