समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई - Chaitanya News
  • 2026-11-16
  • 08:32:35
  • सोमबार,मंसिर ०१, २०८३
  • समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई

    समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई

    काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरुको क्लब भएको टिप्पणी गरेका छन्।

    मंगलबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे।

    ‘यो प्रौढहरुको क्लब हो। यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो‘। यो बुढाहरुको क्लब हो। भविष्यको सपना केही पनि छैन’ भट्टराईले भने, ‘समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन्। मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्।’

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन्।

    एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए।

    ‘समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रबिक्रम चन्दको समाजवादमा पुग्ने बाटो एउटै छ? तरिका एउटै हो? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ। कस्तो मोर्चा हुन्छ त्यो? भट्टराईले भने।