काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सहरी विकास मन्त्रालयको बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै पठाएको भन्दै आपत्ति जनाएकी छन्। उनले सहरी विकास मन्त्रालयको काम अन्य मन्त्रालयसँग जुधेको विषयमा पनि ख्याल नराखिएको बताइन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले संघले स्थानीय र प्रदेश तहले गर्ने काम पनि संघीय मन्त्रालयले विनियोजन गर्ने भनेर योजना ल्याएको बताइन्। यो सहरी विकास मन्त्रालय हो कि सत्तापक्षको मन्त्री विकास मन्त्रालय हो,? सहरी विकास मन्त्रालयको विनियोजन पुस्तक हेरेपछि आफूलाई त्यस्तो लागेको उनले सुनाइन्।
सहरी विकास मन्त्रालय र यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयका कामहरू बाझिएको बजेटको विनियोजनमा नै देखिएको उनले बताइन्। उनले अर्को पटक बजेट निर्माण गर्दा समन्वय गर्न सुझाइन्। विनियोजित बजेट हेर्दा स्थानीय र प्रदेशको काम पनि संघले गर्ने जस्तो देखियो। त्यसै काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाहले हामीलाई वडा्ध्यक्षसँग दाँजेका होइन रहेछन्, उनले भनिन्।
संघीय सहरी विकास मन्त्रालयले ५ र १० लाखका योजनामा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाइन्। उनले संघीय मन्त्रालयले प्रत्येक ठाउँमा स्वास्थ्य चौकी बनाउन बजेट विनियोजन गर्ने हो भने स्थानीय तह र प्रदेश सरकारले के गर्छ भनेर प्रश्न गरेकी थिइन्। अनि ठूला अस्पताल कसले बनाउने भन्ने उनको प्रश्न थियो।
काठमाडौं उपत्यकामा निर्मित अपार्टमेन्ट तथा संयुक्त आवासहरूको उपयोगिता सम्बन्धमा प्रभाव मूल्यांकन गर्ने सहरी विकास मन्त्रालयको योजना भने सही रहेको सांसद डाँगीको भनाइ थियो। उनले काठमाडौं उपत्यका बसोबास क्षेत्र पुनर्उत्थान कार्यक्रम संचालन कार्यविधि तयार गर्न बजेट छुट्याइएको योजना सकरात्मक रहेको बताइन्।
डाँगीले खानेपानी मन्त्रालयले पनि सही ठाउँमा बजेट विनियोजन गर्न चुकेको बताइन्। शुद्ध पिउने पानीका लागि कहिलेबाट बजेट विनियोजन हुन्छ? जनताको मौलिक हकमध्ये शुद्ध पिउने पानी पनि हो, उनले भनिन्।
जारको पानीमा हैंजाको किटाणु भेटिने गरेको पनि सांसद डाँगीको भनाइ छ। ढल फुटेर खानेपानीमा मिसिने गरेको समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो । काठमाडौंवासीले कुन दिन धारामा पानी आउँछ भनेर कुर्नुपर्ने अवस्था छ। धारामा पानी आएको हो कि ढल भन्ने हुन्छ, उनले भनिन्।