आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक - Chaitanya News
  • 2026-05-24
  • 22:56:52
  • आइतबार,जेठ १०, २०८३
  • आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

    आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

    काठमाडौँ- दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ।

    काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ।महानगरपालिकाले बिहानैदेखि हलहरूमा नगर प्रहरी खटाउने भएको छ।

    ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ,’ महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।

    यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।

    आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो।

    महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन्।

    पत्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ।

    रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ।