काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहलाई विदेश उडानमा रोक लगाउन सकिनेसम्मको कानुनी व्यवस्थाबारे स्मरण गराएको छ। महानगरले प्राधिकरणलाई पटक पटक पत्र पठाएको र बिना जानकारी सुरक्षा घेराको रुपमा राखिएको फेन्सिङ तार काटेपछि दुई वटा सरकारी निकायबीच ‘काउण्टर लेटर’ को रस्साकस्सी भएको बताइन्छ।
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जग्गामा सुरक्षार्थ लगाइएको फेन्सिङ तार काटेपछि प्राधिकरणले मेयरसँग हिजो कडा भाषामा स्पष्टीकरण सोधेको छ। पूर्व जानकारीबिना फेन्सिङ तार काटिदिएपछि मेयरसहित तीन जनालाई स्पष्टीकरण सोधिएको छ।
बालेनको निर्देनशनमा भएको उक्त कार्य कानुनविपरीत रहेको प्राधिकरणको ठहर छ । स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएबाट सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरण ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नु।
महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। नागरिक उड्डयनसँग सम्बन्धित कानुन उल्लंघन गरेको पुष्टि भएमा मेयरसहित तीनै जनालाई ५० हजार रुपैयाँसम्म जरिवाना र जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्रचलित कानुनी व्यवस्था छ।
स्पष्टीकरण सोध्नुअघिको घटनाक्रम
सिनामंगलस्थित प्राधिकरणको जग्गामा महानगरले पार्क बनाउने योजना बनायो। तर, उक्त पार्क बनाउने महानगरको तयारी बुझेपछि प्राधिकरणले आफ्नो जग्गा संरक्षण गर्न पूरै जग्गा फेन्सिङ तारले बेर्यो। जग्गामा तारबार गरेपछि महानगरका मेयर, वडाध्यक्ष सबैभन्दा धेरै रुष्ट देखिए। लगत्तै तार काट्न निर्देशन दिए। महानगर प्रहरीले अस्ति तार काटिदियो।
यसबीच प्राधिकरणले नक्सा नबनाई भवन खडा गरेको आरोप लगाएको थियो। त्यत्रो भवन निर्माण सम्पन्न हुने बेलासम्म चुप लागेको महानगर पनि जग्गामा पार्क बनाउन नपाउने भएपछि सरकारी अड्डासँग नक्साको खोंचे थाप्न थाल्यो।
लगत्तै तार काटेको मेसोमा मेयरलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो। नागरिक उड्डयन कानुनमा रहेको विद्यमान व्यवस्थालाई उल्लेख गर्दै प्राधिकरणले बालेनलाई विदेश उड्नबाट रोक्न सकिने प्रचलित कानुनबारे पूर्वजानकारीको चेतावनी दिएपछि दुई संस्थाबीच आरोप प्रत्यारोप चलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणमातहत भएकोले उसले त्यहाँबाट कसैलाई पनि बिदेश जान नदिन सक्ने जानकारहरु बताउँछन्।