पाँचथरमा बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो - Chaitanya News
  • 2026-11-16
  • 11:24:52
  • सोमबार,मंसिर ०१, २०८३
  • पाँचथरमा बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

    पाँचथरमा बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

    पाँचथर– गएराती मुलसधारे बर्षासँगै खोलामा आएको बाढीमा बेपत्ता जिल्लाका सबैको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म पाँच जना सम्पर्कबिहीन बनेका छन्। सम्र्कबिहीन हुनेमा हिलिहाङ–७, का ३३ बर्षीय तिल कुमार तमाङ, फिदिम–११, का २८ बर्षीय सञ्जोग लिम्बू र फिदिम–५, का ५५ बर्षीय राज कुमार राई रहेका छन ।

    त्यस्तै फिदिम–४, माझिटारबाट २८ बर्षीय आशिष माझि र २५ बर्षीया एलिशा माझि पनि सम्पर्कबिहीन बनेका छन्। त्यहाँ रहेको तमोर करिडोर सडकको हेंवाखोलास्थित बेलिब्रिज बगाउँदा आशिष र एलिशा पनि बेपत्ता बनेका प्रहरीले जनाएको छ। फालेलुङ–३, मा पहिरोमा पुरिएका एक बच्चाको भने सकुशल उद्धार गरिएको छ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजीकार्य जारी राखेका छन्।

    बाढीले मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलाको मोटरेवल पुल, तमोर करिडोर सडक अन्तर्गत फिदिम–४, माझिटारमा रहेको बेलिब्रिज बगाएको छ। त्यस्तै फालेलुङ ३–७ को सिमाना र फालेलुङ ३–५ को सिमानामा रहेका मोटरेवल पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए।

    बाढीले याङवरक गाउँपालिका–२, चाम्लिङदोभानस्थित दुई वटा झोलुङ्गे पुल, फालेलुङ ३ र ५ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। त्यस्तै फिदिम–४, हेंवखोलामा रेशम कटुवालको २ तले घर र एउटा गोठ, याङवरक–२, का राम प्रसाद राईको १ तले घर, सोहि स्थानका चन्द्र बेघाको २ तेले घर र १ तले मतान, कृष्ण बेघाको १ तले घर र पशुचौपाया बगाएको प्रहरीले जनाएको छ।