प्रचण्ड-माधवलगायतको समाजवादी मोर्चाबारे ओलीको टिप्पणी- ‘लिभिङ टुगेदर’ चलेकै छ किन चाहियो त्यो अर्को मोर्चा - Chaitanya News
  • 2026-11-16
  • 11:06:50
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रचण्ड-माधवलगायतको समाजवादी मोर्चाबारे ओलीको टिप्पणी- ‘लिभिङ टुगेदर’ चलेकै छ किन चाहियो त्यो अर्को मोर्चा

    प्रचण्ड-माधवलगायतको समाजवादी मोर्चाबारे ओलीको टिप्पणी- ‘लिभिङ टुगेदर’ चलेकै छ किन चाहियो त्यो अर्को मोर्चा

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन्।

    नवप्रवेशीलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको बताए। ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे। समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने,’ उनले भने।

    मोर्चामा सामेल हुने भनिएका दलहरूको ‘लिभिङ टुगेर’ चलिरहेको टिप्पणी गर्दै उनले नयाँ मोर्चाको औचित्य नहुने बताएका हु्न्। ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् । लिभिङ टुगेदर त चलेकै छ । तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछन् खास वास्ता राख्नुपर्ने छैन,’ उनले भने।

    अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे। उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोप मात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए।