मेयर हुन् त हर्क जस्तो : ९९ दिनको मिहिनेतले ४० किलोमिटर दूरीको पानी धरानमा बग्यो - Chaitanya News
  • 2026-11-21
  • 05:55:56
  • शनिबार,मंसिर ०६, २०८३
  • मेयर हुन् त हर्क जस्तो : ९९ दिनको मिहिनेतले ४० किलोमिटर दूरीको पानी धरानमा बग्यो

    मेयर हुन् त हर्क जस्तो : ९९ दिनको मिहिनेतले ४० किलोमिटर दूरीको पानी धरानमा बग्यो

    काठमाडौं- नेपालमा ७ सय ५३ स्थानीय सरकार छन्। सधै चर्चाको शिखरमा हुन्छन् काठमाडौंका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साम्पाङ राई र धनगढीका मेयर गोपाल हमाल। ७ सय ५० जनाको चर्चा भने शून्य जस्तै छ। चर्चामा रहेका तीनै जना स्वतन्त्र रूपमा जनप्रतिनिधिमा निर्वाचित भएका हुन्।

    उनीहरूले मज्जाले काम गरिरहेका छन्। उनीहरूको लोभलाग्दो कामकै कारण जनताले वाहवाही गरिरहेका हुन्। कसैको दबाब र प्रभावमा नपरी काम गरिरहेका तीनै जना मेयरले दृढ इच्छाशक्ति भए जस्तोसुकै असहज काम पनि सहजै फत्ते गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरिदिएका छन्। बालेनले काठमाडौंको फुटपाथ हटाउनुका साथै व्यवस्थित सहर बनाउन कडा मिहिनेत गरिरहेका छन्। गोपाल हमालले धनगढीका अतिक्रमित खोलानालालाई फराकिलो पार्नुका साथै मुख्य सडक चौडा पार्ने काम गरिरहेका छन्।

    धरानका हर्कले त झनै ९९ दिनको अथक प्रयासमै ४० किलोमिटर दूरीमा रहेको कोकाहाको पानी धरानमा झारेका छन्। त्यो उनका लागि पक्कै सहज थिएन। चुनावताका जनतालाई बाचा गरेका थिए। त्यो जसरी पनि पुरा गर्नुथियो। त्यसमा उनी सुरुवाति दिनबाट नै लागि परे। र, ९९ दिनमा नै ४० किलोमिटर दूरीमा रहेको कोकाहा खोलाको पानी धरानमा झारेर धरानवासीका काकाकुलतालाई मेट्न सफल भएका छन्। कोकाहाको पानी धरानमा झरेपछि स्थानीय खुसी भएका छन्।

    एक वर्षअघि स्वतन्त्र उम्मेदवारी दिएर धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका हर्क साम्पाङले कोकाहाको पानी ल्याएर धरानबासीलाई खुवाउने बाचा गरेका थिए। उनले त्यो बाचा पूरा गरेका छन्। धरानबासीले दिनरात श्रमदान गरेर उनलाई सफल बनाएका छन्। स्वदेश र विदेशका हजारौं दाता र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि सहयोग गरे। खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँको पाइपसमेत खरिद गरेर दिएका छन्।

    कोकाहाको पानी धरानमा खसेपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘म एउटा सानो मान्छेको कोकाहा ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोगप्रति आभारी छु। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौं जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिनँ। यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु!’

    सोमबार राति धरानमा पानी आइपुग्दा उनी भक्कानिए। कोकाहाको पानी नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त थिए मेयर। करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी सोमबार मध्यराति १२ बजे धरानमा खसेको थियो।