आँसु खसाल्दा
आइमाईको संज्ञा दिने यो समाजमा
कसरी बाँचे हुनन् हाम्रा बा !?
हो रुन हुदैन उनले
दुख्दा आइया भन्न हुँदैन,
पोल्दा आत्था भन्न हुदैन,
हुदैन उनले कमजोर बन्न
दर्जनौं सन्तानको बोझ बोकेर
हिंडिरहनुछ,
अनेक घुम्ती र अक्करमा
हाँसिरहनु पर्छ हर ठक्करमा।
परिवारको बोझले थिचेको
त्यो टाउको
निहुराउन हुदैन
कन्चटिबाट बगेको पसिनाको धारो
देखाउन हुदैन
हुँदैन पुरुषले नामर्द्झैं झुक्न
सामू बाघै आओस्
भिड्नुपर्छ उसले
हुदैन लुक्न।
त्यसैले
बा पुरुष भएरै बाँचे
आँसु खसालेनन
आइमाई बनेनन
उनलाई दुखेन,दुखेको देखिएन
उनलाई पोलेन , पोलेको देखिएन
सायद
मनका पीडाका डोबहरु देखिएनन्
त्यसैले
पुरुष भएरै बाँचे बा,
आँसु खसालेनन
आइमाई भएनन्
जीवन भोगी रहे
कुनै पहरामा कुहिनो ठोकिएन
कुनै बोझले थिचेन
पसिनाको बोझले भिजेनन
खै,
एकान्तसँग प्यार थियो कि!
पीडाहरुसँग मितेरी गाँसेपछि
सजिलो भएको हुन सक्छ भोगाइहरु
नत्र
किन बा रोएनन??
किन आँसु खसालेनन?
किन आइमाई बनेनन?
बा
कसैसँग डराएनन
किनकी
आफ्नै भोगाइको त्रासमा
जीवन बाँचिरहे।
त्यसैले
बा
पुरुष बनेरै बाँचे
आइमाई बनेनन।
गान्तोक, सिक्किम