विषय प्रवेश
मूल्य (‘Value’) अंग्रेजी शब्द ‘Value’ ल्याटिन शब्द ‘Valere’ बाट आएको हो। जसको अर्थ हुन्छ– योग्यता, उपयोगिता, मूल्य, उत्कृष्टता, महत्त्व आदि जसबाट कुनै चीज मूल्यवान वा सम्मानजनक बनाउन सकिन्छ। मूल्य शब्दको शब्दकोशीय अर्थ– कुनै व्यक्ति वा वस्तुको त्यस्तो गुण, जसको कारणले त्यो महत्त्वपूर्ण, अर्थपूर्ण, गुणकारी, सम्मानजनक र उपयोगी हुन्छ भन्ने लाग्दछ। सामान्य अर्थमा, मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्त्वलाई इंङ्कित गर्छ। मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौंट र आवश्यकताका आधारमा सिर्जित हुन्छ। धेरैजसो कानुन तथा नियम सामाजिक मूल्य मान्यताबाट निर्देशित हुन्छन्।
मानवीय मूल्य
मानवलाई मूल्यवान र सम्मानजनक बनाउन अवलम्बन गरिएका प्रयासलाई मानव मूल्य भनिन्छ। मानव मूल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट बनाउने कार्य गर्छ। मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव, करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुरा नै मानवीय मूल्य हुन्। जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील बनाएको छ। वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशमा यो पक्ष कमजोर हुन थालेको छ। यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ। हामीले बुझ्नु पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्त्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मूल्यको ह्रास हुन थालेको छ। यो समस्या नेपाली समाजमा पनि स्पस्ट रूपमा देख्न सकिन्छ। नेपाली समाजको संरचना पछिल्लो समयमा खलबलिन थालेको छ। समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ। समाजमा रहेका केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतर्फ डोर्याउने प्रयास हुँदै आएको छ। समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता, वुद्धि, विवेक, चेतना, आदर, सत्कार, प्रेम, स्नेह आदि मानवीय गुण समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ। वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्त्वपूर्ण मानक मानिन्छ। मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन्। समाजमा रहेका अनेक किसिमका विकृति विसङ्गती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्छ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ। अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ। यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ। मानिस आज सामाजिक, आर्थिक मन्दि, वातावरणीय प्रदुषण, सर्ने र नसर्ने रोगको प्रकोप, मानसिक तनाव जस्ता समस्याहरुको दलदलमा भासिँदै गएको छ। विश्वव्यापी असर उत्पन्न गरिरहेका यस्ता विकराल समस्याहरू समाधान गर्दै असल संयम नागरिक तथा सन्तुलित वातावरणसहितको समुन्नत समाज निर्माण गर्न आज मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक भएको छ। मानवीय मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान, सीप र कौशल मात्र सिकाउँदैन, यसले सबैप्रति आदरभाव, असल चरित्र निर्माण, वातावरणीय तत्त्वको संयमित उपयोग र सिङ्गो जीवजगतप्रति नै करुणा, मैत्री, सहअस्तित्त्व र प्रेमभाव सिकाउँछ। मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन, सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ। सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया। सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्। यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्छ। सवको हाम्रो समृद्धि यसै नाराबाट निर्देशित हुनु पर्छ। हाम्रा पूर्खाले अभ्यास गरेको सर्वजन हिताय, सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन्। यिनको महत्त्व आज पनि कम भएको छैन बरु बढ्दै गएको छ। विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँग जोड्नु आवश्यक छ। मानवीय जीवनको महत्त्वपूर्ण पक्ष सत्य, अहिंसा, प्रेम, दया, शान्ति र करुणालाई मानवीय मूल्यको रूपमा विश्वले स्वीकारेको छ। मानवीय मूल्य नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन्।
नैतिक मूल्य र मान्यता
समाजमा रहेका मानिसलाई नैतिकवान बनाई राज्यप्रति उसको उत्तरदायित्व अभिवृद्धि गर्नसक्ने तुल्याउनको लागि पनि समाजमा रहेका विभिन्न संघ सस्थाको भूमिका गहन हुन्छ। हाम्रो समाजले सकारात्मक सोच र व्यवहार भन्दा पनि नकारात्मक सोचको खेति गर्दै गरेको परिस्थितिमा यसलाई चिर्न पनि नैतिक मूल्य र मान्यताको अझै महत्त्व हुन आउँछ। नैतिक मूल्य र मान्यता तथा दायित्व सिकाउने संस्था भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक संस्था तथा अन्य सान्दर्भिक सस्था हुन्। समाजमा यस्ता संस्थाको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्छ। यी संस्थाले मानिसलाई नैतिक मूल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन शिक्षा एक अनिवार्य हुन आउछ। शिक्षा मुलतः औपचारिक तथा अनौपचारिक दुवै तरिकाबाट प्राप्त गर्न सकिन्छ। अनौपचारिक शिक्षा अन्तर्गत परिवारबाट प्राप्त गर्ने शिक्षाले मानवीय मूल्य निर्धारणमा महत्वपूर्ण हुन्छ। परिवार समाजिक संगठनको आधारभूत इकाइ हो। पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गर्छ। मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपसमेत परिवारबाटै प्राप्त गर्छ। अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ। परिवार कुनै पनि व्यक्तिको नैतिक मूल्य र मान्यता सिक्ने पहिलो महत्त्वपूर्ण पाठशाला हो। परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरूको जीवनशैली तथा उनीहरूले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ। त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ। सदाचार, नैतिकता र आदर्श जीवनका आधारभूत गुणलाई व्यवहारमा नै प्रयोग गर्न उत्प्ररित गराउनु पर्छ। बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ। समाजका आधारभूत मान्यता र चरित्रबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ। समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्त्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ। व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार बनाइनु पर्दछ।
परिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्छ। समाजमा बस्ने मानिसको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो। समाजमा बस्ने मानिसहरूको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्छ। यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ। अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ। समाजमा सद्गुणी, आचरणयुक्त, विवेकी, न्यायपूर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्त्वपूर्ण योगदान गर्न सघाउँदछ। यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ। व्यक्तिको मूल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्यसमेत सँगै अगाडि बढाउनु पर्छ। सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ। समय समयमा जनचेतनामूलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थालाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्छ। हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यताबारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ।
सार्वजनिक प्रशासनमा नैतिकता
नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन्। मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, समावेशी, सहभागितामूलक, जवाफदेहि र भ्रष्टाचारमुक्त बनाउन सकिन्छ। विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक, पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्बन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ।
अहिले देखिएको नैतिकता र पद्धतिको खडेरी एकैपटक भएको पनि होइन। लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्धतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ। हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो। हामी कहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन। यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किँएको र अनुशासन हराएको छ। अब एक–एक गरी असल गुणको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ। मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसञ्चालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झाँगिने र फैलने विकृतिको जड् भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो।
सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ। यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन्। उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ। हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन्। उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ। यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन्। प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो।
सार्वजनिक व्यवस्थापनमा अध्यात्मवाद
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवादको एउटा मतअनुसार भौतिक जगत परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। जबकि अन्य अध्यात्मवादीहरूका लागि यो मानव चेतनाको भ्रम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्। सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानुनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्। अध्यात्म भनेको छालाले नदेखिने यथार्थ हो, यसलाई बुझ्न आत्मज्ञान चाहिन्छ। पूँजीवादी दर्शनमा अध्यात्मवादको अर्थ अक्सर आदर्शवाद हो। अध्यात्मवाद त्यो विचारधाराको नाम हो, जसमा आत्मालाई सबैको मूल मानिन्छ।
अध्यात्मवाद एक विज्ञान हो जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ। अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्छ। यो आफूले आफैँलाई चिन्ने कला हो। म को हुँ? म यो धर्तीमा किन आए?, मेरो कर्तव्य के हो? मानव जीवनको उद्देश्य के हो? जस्ता शास्वत प्रश्नको खोजी अध्यात्मवादले गर्छ। आत्मको वास्तविक परिचय मानवता र आत्माबाट सुरु हुन्छ। जर्ज बर्नार्ड शले संसारलाई प्रत्येक व्यक्तिको नाम अगाडि ‘मानव’ राख्न प्रस्ताव गरे जसमा हामी पहिलो मानव हौं र केवल हाम्रो नाम, पेशा र अन्य धेरै आउँछन्। हामीलाई तोकिएको कर्तव्य वा कार्यको बारेमा हामीले ‘म कहाँ जाँदैछु?’ प्रश्नहरूको बारेमा स्पष्ट हुनुपर्छ। ‘मैले विशेष पेशा किन रोजें?’ तबमात्र हाम्रो जीवन क्रिस्टल बन्छ र अर्थपूर्ण रूपमा अगाडि बढ्छ। आफ्नो जीवनमा अध्यात्मको खेतीले अभ्यासीलाई अरूलाई पनि आफूसँग मिल्ने र सधैं सत्यको पालना गर्न लगाउँछ। सार्वजनिक सेवाको माग र आपूर्तिबीचको मेलमिलाप गर्नका लागि जनसेवकमा समानुभूति, सहिष्णुता, करुणा र अन्य आधारभूत मूल्यहरू हुनुपर्छ। यी मूल मूल्यहरू तबमात्र सिर्जित गर्न सजिलो हुन्छ जब एक व्यक्तिले आध्यात्मिक मार्ग लागू गर्न चाहन्छ। अर्को महत्त्वपूर्ण पक्ष यो हो कि एक आध्यात्मिक व्यक्ति सम्पत्ति र अहंकार त्याग गर्न तयार हुन्छ र दृष्टि र कर्मको एकीकृत रूप हो।
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्त्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाईमात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ। स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन्। अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ। धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ। एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्छ। मानव सभ्यताको क्रममा विकसित र प्रयोग हुने तीनवटा मुख्य पूँजीहरू छन्: भौतिक पुँजी, मानव पुँजी र आध्यात्मिक पुँजी। यी मध्ये आध्यात्मिक पुँजी नै सर्वोत्कृष्ट हो जसले समग्र जीवनलाई सरल बनाउँछ।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ। यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो। सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मूल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामूलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ। सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी र जिम्मेवार बनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त वनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मूल्य मान्यताहरुलाई आनिवार्य रूपमा आत्मसात गर्नुपर्छ।
मानव मूल्य र मर्यादाः
मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, संस्कृति र साहित्यमा उच्च रहँदै आएको छ। वैज्ञानिक रूपमा यसको परिभाषा स्थापित भैनसके पनि मूलरूपमा एक मानिसले जन्मशिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ। सामान्यतः जब यसको हनन् वा पीडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शब्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ। मानव मर्यादामाथिका चुनौतीहरू: मानवमूल्य वा मर्यादामा व्यक्तिगत र सामूहिक हिसाबले विविध स्वरुपमा प्रहार वा हनन् हुनेगर्छ। जानीनजानी, संस्कारगत वा नियतपूर्वक विशेष गरेर शक्तिशाली पक्षले कमजोर पक्षलाई उपहास गर्ने मतलब सिद्धीको लागि प्रयोग गर्ने, छुद्र सावित गर्ने वा अमानवीय व्यवहार गर्ने गरेका सानाठूला उदाहरण हाम्रा घर, समाज, राज्य, विश्व र मानव इतिहासमा अनगिन्ति छन्। यातना, बलत्कार, बँधुवा, कमलरी, सती, सामाजिक विभेद, मजदुरको श्रम शोषण आदि मानवमूल्य उलंघनका केहि दृष्टान्त हुन्। साधनश्रोत, सम्पत्तिमा निश्चित वर्गको मात्र पहुँच र अधिकार बनाएर बहुसंख्यक जनतालाई गरीबी, अभाव र उत्पीदनमा बाँच्न बाध्य बनाउने र आफ्नो बर्चश्व कायम राख्ने परम्परा पनि कायमै छ। हुनेले खानेलाउने, मोजमस्ती, मनोरञ्जन, सामाजिक व्यवहार, शिक्षा र दैनिकजीवनका यावत् कुरामा आममानिसले धान्न नसक्ने खालको व्यवहार देखाएर बहुसंख्य मानिसको मनमा आफू तिरस्कृत, असक्षम वा नीच, सामाजिक रुपले त्यक्त, सिमान्तकृत वा समग्रमा मर्यादाविहीन भएको महसूस गराएर बिभेदको परम्परा चलाइराख्ने खेल पनि चलि नै रहेकोछ। विशेष गरेर विकासोन्मुख देशमा महिलालाई सरसफाईको कमिले उनीहरुको आत्मसम्मानमा ठेस पुगिरहेको हुन्छ।
शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता
नेपालले लोकतान्त्रिक संघीय शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ। यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नु पर्छ। नेपाली जनताले सनातन कालदेखि धारण गर्दै आएको धर्म, समय सापेक्षिक रूपमा परिवर्तन हुँदै गएका मानवीय मूल्य र विचारले सामाजिक–राजनीतिक मूल्यलाई बलियो बनाउन मद्दत गर्छ, जसका कारण राज्य र नागरिकबीचको सम्बन्ध सुमधुर हुन जान्छ। लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ। मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु निम्न छन् :
– नेपाली नागरिकहरु बीच आपसी सद्भाव, सहयोग र एकता र भातृत्वको भावना विकास गर्न,
– सामाजिक महत्वका विषयहरु कला, संस्कृतिको संरक्षण र सम्वर्धन गर्न,
– राज्यका हरेक तह र तप्कामा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिताको सुनिश्चित गर्न,
– राज्यका स्रोत साधनको सही सदुपयोग गरी विकासमा तीव्रता दिन,
– नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन।
– बहुधार्मिक, बहुजाति, बहुसंस्कृतिबीच समभाव र सहिष्णुता कायम गर्न,
– सामाजिक न्याय कायम गर्दै समतामूलक समाज निर्माण गर्न,
– मानव जीवनलाई माया, प्रेमउन्मुख बनाउँदै सामाजिक कलह र विखण्डनको अन्त्य गर्न,
– समयसापेक्ष समाजलाई परिवर्तन गर्न,
– असल नागरिक निर्माण गर्न,
– शान्ति, बन्धुत्व,भाइचारा, नैतिकता, सदाचारिता, सुसंस्कार र सुशासन कायम गर्न,
मानवीय मूल्य अवलम्बनमा देखिएका कमजोरी
कुनै पनि लोकतान्त्रिक मुलुकको संविधानले विश्वव्यापी मानवीय मूल्यहरु स्वीकार गर्नेमा दुई मत नहोला। मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पुर्याउँछ। तथापि, नेपालमा मानवीय मूल्यको अबलम्वनमा निम्न कमजोरीहरु देखिएका छन् :
– बनेका नीति, कानुन र नियमहरुको पूर्ण कार्यान्वयन हुन नसकेको,
– भ्रष्टाचार, ढिलासुस्ती, वैयक्तिक विचलनका कारण सार्वजनिक निकायको अस्तित्वमा प्रश्न चिह्न खडा भएको,
– शान्ति, अहिंसा, परमोधर्मको भावना मर्दै गएको र नयाँ अपराधको शृंखला बढ्दै गएको,
– जाति, धर्म सम्प्रदाय जस्ता संवेदनशील विषयमा राजनीति सुरु गरिएको,
– दिनँहुजसो हत्या, हिंसा, बलात्कार, चोरी, डकैतीको संख्या बढ्दै गएको,
– नैतिक, व्यावसायिक र लोकतान्त्रिक मूल्य मान्यतामा क्रमशः ह्रास आएको,
– मानवीयता, दया, प्रेम जस्ता विषय दिन प्रतिदिन दयनीय बन्दै गएको,
– सामाजिक विचलन, विकृति, र मतभेदको अवस्था सृजना हुन थालेको,
– अझै पनि जातीय छुवाछुत र बहिष्करणको अवस्था रहेको,
– अपराधको राजनीतीकरण र राजनीतिको अपराधिकरण बढ्दै गएको।
कमजोरी हटाउन चाल्नुपर्ने कदम
सरकारले सदाचारयुक्त भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम गर्ने नीति लिएको छ। मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन्। मानवीय मूल्य अवलम्बनमा देखिएका कमजोरीहरु हटाउन निम्न कदम चाल्नु पर्दछ।
– जनहित र राष्ट्रिय समद्धिका लागि बनेका कानुन, नीति, कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ।
– अधिकार प्राप्ति मात्र होइन, नैतिकता, राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मान र पालना गर्नु हरेक नागरिकको दायित्व हो भन्ने धारणा विभिन्न माध्यमद्वारा सबैमा बोध गराउने,
– अपराधको न्यूनीकरणका लागि विभिन्न संयन्त्र स्थापना गरी कार्यान्वयनमा ल्याउने, अपराधको प्रकृतिका आधारमा समान कानुनी कारबाही गर्ने,
– राज्य सञ्चालनका संयन्त्रले आफ्नालाई काखा अरुलाई पाखा गर्ने व्यवहारको अन्त्य गर्नुपर्ने,
– नैतिकता र सदाचारयुक्त कार्य संस्कृतिको विकास गर्न उत्प्रेरणाका औजारहरु प्रयोग गर्ने,
– सामाजिक सद्भाव, एकता कायम गर्न र जातिय छुवाछुत अन्त्य गर्न चेतनामूलक कार्यक्रम लक्षितवर्गसम्म पु–याउने,
– सामाजिक न्याय र समतामूलक समाज स्थापनाका कार्यक्रम निर्माण गरी कार्यान्वयन ल्याउने,
– नेपालको संविधानको पूर्ण कार्यान्वयनमा तीनवटै तहका सरकारी, गैरसरकारी निकायहरु र नागरिकहरुबीच सहकार्य हुनुपर्ने।
– अबको राजनीतिक एजेन्डा भनेको विकास हो। धर्म, जात र सम्प्रदायका नाममा राजनीति गर्नेलाई निरुत्साहित गर्ने र सामाजिक अपराधको रुपमा दण्डित गर्ने,
– परम्परादेखि चल्दै आएका धार्मिक आस्था, मानवीय मूल्य, संस्कृतिको प्रवर्धन र संरक्षणका लागि विभिन्न औजारहरुको प्रयोग गर्ने,
निष्कर्ष,
सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ। प्रशासनमा नातावाद, कृपावाद,आफ्नो मान्छे, भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ। यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मूल्यमा आधारित शिक्षा, सामाजिक मुल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ।
सन्दर्भ सामग्रीहरू
१. तोमनाथ उप्रेती, नैतिकता र सदाचारिता मार्फत सार्वजनिक व्यवस्थापनमा सुधार, www.khabarmukam.com,2079-12-3
२. डा. डिजन भट्टराई, अनलाइन खबर डटकम, २०७९ मंसिर।
३. www.khabarmukam.com,2079-12-3 मूल्यमा अमधारित शिक्षा, आजको आवश्यकता, ध्रव प्रसाद गौतम।
४. Yuval Noah Harari, “A Brief Histry of Humankind” .
५. www.hamropatro.com
६. डा. दामोदर रेग्मि, प्रशासनमा मुल्य र नैतिकताका आयामहरु,प्रशासन, २०७७ जेठ २१ (www.hamropatro.com)
७.पुष्पराज भट्टराई, मानवीय मुल्यको शिक्षा,गोरखापत्र दैनिक।
८. नेत्र सुवेदी प्रयास, सार्वजनिक क्षेत्र व्यवस्थापनमा जवाफदेहिता, नैतिकता र व्यावसायिकता, ऐश्वर्य प्रकाशन प्रालि।
९. कल्पना घिमिरे, संविधान, धर्म र मानवीय मुल्य, न्युज कारोवार, २०७५ पौष १७।
१०. धनरत्न शाक्य, मानवीय मुल्य र मानव अधिकारको सवाल (www.hamropatro.com)
११. उदय वहादुर रानामगर, शिक्षाले मानवीय मानवीय मुल्य बढाउनु पर्छ, देश संचार।
१२. तोमनाथ उप्रेती र साथीहरु, खाध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, अधिकृत तह ६ ,वरिष्ठ अधिकृत तह ७, परिक्षा दिब्यज्ञान (२०७९) , गुरु प्रकाशन, काठमाडौं।
१३. तोमनाथ उप्रेती र साथीहरु, नेपाल आयल निगम, परिक्षा दिब्यज्ञान , अधिकृत लेखा तह ६ (२०७९) , गुरु प्रकाशन, काठमाडौं।
१४. तोमनाथ उप्रेती र साथीहरू, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान , परिक्षा दिब्यज्ञान ,अधिकृत लेखा तह ६ (२०७९) , गुरु प्रकाशन, काठमाडौं।
(लेखक उप्रेती नेपालसकारका उपसचिव हुन्।)