गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : नेता साउद - Chaitanya News
  • 2026-07-16
  • 12:33:10
  • बिहिबार,आषाढ ३२, २०८३
  • गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : नेता साउद

    गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : नेता साउद

    काठमाडौं- सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।

    आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।

    परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए।

    गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरूसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।

    ‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरू मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिबद्ध छ भन्नुभयो।’

    क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए।

    ‘क्याबिनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याबिनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

    भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रतिष्ठान नभइ विश्वविद्यालय नै बनाउन सरकार प्रतिबद्ध रहेको जवाफ दिएको बताए।