काठमाडौं- नेपालको मौसमी प्रणालीमा भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन थालेको छ। पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
आज पनि देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अत्याधिक गर्मीबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।
आज बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोसी र वाग्मती प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोसी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।