प्रेसर लो जो सुकै व्यक्तिमा पनि हुनसक्ने स्वास्थ्य समस्या हो। प्रेसर लो हुँदा हामीले के गर्ने भन्ने विषयमा भने जानकार हुनुपर्छ। हामी प्रेसर लो हुने बित्तिकै जीवनजल वा नुनपानी खुवाउने गर्छौं। तर, सबै व्यक्तिमा त्यस्तो गर्नु हुँदैन। त्यसले शरीरमा नुनको मात्रा बढी भएर असर गर्ने पनि हुन्छ। कतिपय प्रेसर लो बढी हुँदा जीवनजलको बढी प्रयोग गर्ने बिरामी पछि मेरोमा हाइपर टेन्सन भएर आएका पाएको छु।
प्रेसर ननापेरै पनि यो व्यक्तिको बिपी घटेको छ भनेर पत्ता लगाउन सकिन्छ। प्रेसर लो भएको मानिसमा पसिना आउने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, वाकवाकी लाग्न, बसेर उभिँदाखेरि टाउकोमा रगत नपुगेर मानिसलाई रिँगटा लागेर ढलौला जस्तो हुने र प्रेस एकदमै कम भएमा बेहोस हुने समस्या हुन्छ। यस्ता लक्षण देखिएमा पानी र नुन आवश्यक हुन्छ। त्यसैले पानी र नुनिला कुरा दिनुपर्छ। तुरुन्तै पाइने नुनिला कुवा वा फलफूलको जुस दिनुपर्छ। घरमा भए दालको झोल दिनुपर्छ। तरकारीको झोल दिन सकिन्छ।
प्रेसर धेरै कम भएमा तुरुन्तै माथि उठाउनु परेमा नुनिलो झोल वा जीवनजल दिनुपर्छ। हस्पिटलमा आउँदा हामीले सलाइन दिन्छौं। त्यही कुरा मुखबाट दिए पनि काम गर्न सक्छ। बिपी नाप्न सकियो र बिपी ८०/४० छ भने वा ७०/५० छ भने पनि आत्तिनु हुँदैन। हार्ट अट्याक नभएर अरू कारणले बिपी घटेको भए त्यस्ता व्यक्तिको ज्यान जाँदैन। बिपी एकदमै कम भएको भए साथमा भएको मानिसले टाउको तल पारेर खुट्टालाई उचालिदिनुपर्छ। यसले रगतको प्रवाह दिमागसम्म पुग्छ। तर, हामी उल्टो गर्छौं। हामीले मायाले काखीमा च्यापेर बसाउन खोज्छौं। प्रेसर कम भएको मानिसलाई उठाउँदा मुटुले टाउँकोसम्म रगत फाल्न सक्दैन। जसले गर्दा ब्रेनमा रक्त प्रवाह नभएर मानिस बेहोस हुन्छ। यसले ब्रेन प्रमानेन्ट ड्यामेज हुने जोखिम हुन्छ।
त्यसैले प्रेसर कम भएको मानिसलाई उठाउन कोसिस गर्नु हुँदैन। बरु सिरानी निकाले खुट्टा माथि उठाउने कोसिस गर्नुपर्छ। र, चिसो वातावरण सिर्जना गर्नुपर्छ। प्राय गर्मीमा, बसमा, घाममा, व्रत बसेको समयमा, पखाला चलेको समयमा, ज्वरो आएको समयमा प्रेसर घट्दा चिसो वातावरणमा राख्नुपर्छ। चिसो पानीले मुख पुछिदिने, पङ्खा चलाइदिने, खुट्टा उचालिदिनेलगायत काम गर्नुपर्छ। अर्धचेतन व्यक्तिलाई केही खुवाउनु हुँदैन। प्राय महिलाहरूमा ९०/९५ र १०० को प्रेसर नेचुरल तरिकाले पनि हुन्छ। मुटु रोग छैन भने यो प्रेस पनि ठिकै हुन्छ। तर, यसलाई हामीले नराम्रो बनाइरहेका हुन्छौं। प्रेसर कम छ, अलि टाउको दुख्यो भने हामी तुरुन्तै जीवनजल खाने गलत सोचाइ हो। त्यो समयमा नेचुरल नुन खानुपर्छ। फलफूलमा सोडियम हुन्छ, घरमा भएको ड्राइफ्रुडमा सोडियम हुनसक्छ। यस्ता खानेकुरा खाएर पानी पिएर ब्लड प्रेसर बढाउनुपर्छ। यसको साटो चाउचाउ, नुनचीनी, दालमोट, जीवनजल भने खानु हुँदैन। लामो समय यस्ता चिज खाँदा उच्च रक्तचाप र मुटु रोगको जोखिम निम्त्याउँछ।
प्रेसर लो हुँदा बिरामीको अवस्था हेरेर नुनिलो खानेकुरा दिनुपर्छ। हार्ट अट्याकका कारण पनि कहिलेकाहीँ प्रेस लो भएको हुनसक्छ। त्यस्तो अवस्थामा मुटुको इसिजीलगायतका जाँच गर्नुपर्छ। प्रेसरको औषधि खाइरहेका मानिसले भने बेला-बेला चिकित्सकको सुझाव अनुसार प्रेसरको औषधि चलाउनुपर्छ।