बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ : सांसद केसी - Chaitanya News
  • 2026-11-16
  • 08:33:25
  • सोमबार,मंसिर ०१, २०८३
  • बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ : सांसद केसी

    बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ : सांसद केसी

    काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्ने बताएका छन्।

    आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड दिए।

    ‘निरपेक्ष गरिबीको रेखामुनि बसेका सीमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन’, उनले भने ।

    सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाए।

    ‘सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रुपमा लिएको छु’, उनले भने, ‘कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ?’