काठमाडौं- यतिबेला सुदूरपश्चिमका जनता आन्दोलित बनेका छन्। दिनहुँ बन्द र चक्का जाममा उत्रिरहेका हुन्छन्। उनीहरूको आक्रोश राज्यसँगको हो। जुनसुकै शासन व्यवस्था आए पनि आफूहरूमाथि सौतेलो व्यवहार हुँदै आएको भन्दै सुदूरपश्चिमवासी आक्रोशित भएका हुन्।
६०० सैय्याको अस्पताल सञ्चालनार्थ भौतिक संरचना निर्माण भइसक्दा सरकारले बजेटमा १०० शय्याको अस्पताल सञ्चालन गर्ने भनेपछि यतिबेला सुदूरपश्चिमका जनताको आक्रोश बढेको हो।
गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू, पूर्व सांसदहरू र सरोकारले बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए। गेटामा धमाधम भौतिक संरचना निर्माण भइरहेको बेला सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेपछि सुदूरपश्चिमवासी हर्षित भएका थिए।
मन्त्रिपरिषद्ले निर्णय गरेको भोलिपल्ट सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डले गेटा क्षेत्रको अवलोकन गर्दै विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका थिए। प्रधानमन्त्रीबाटै विश्वविद्यालय विधेयकको मस्यौदा बनाएर संसद्मा लैजाने आश्वासन पाएका जनता हर्षित थिए।
प्रचण्डले सुदूरपश्चिम आएर भनेका थिए, ‘म पहिला पनि यो मेडिकल कलेज स्थापना गर्ने प्रक्रियामा प्रत्यक्ष रूपमा जोडिएको थिएँ। बीचमा यसको बेस बन्ने क्रममा पनि म अनुगमनमा आएको थिएँ। अहिले फेरि म आउँदा चाहिँ खुसीको कुरा छ, अब यहाँ मेडिकल कलेज मात्र होइन, हिजो क्याबिनेट बैठकले हामी बसेर सरकारले देशकै पहिलो सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर निर्णय गरेका छौं। अब यसको प्रक्रिया अगाडि बढिसकेको छ। मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गरें। त्यसपछि पनि सबैभन्दा बढी मैले सुदूरपश्चिमकै अवलोकनहरू गरेको छु। गेटाको यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन, देशकै गौरव हो।’
प्रधानमन्त्री प्रचण्डको घोषणा र मन्त्रिपरिषद्को निर्णयपछि ढुक्क भएर बसेका सुदूरपश्चिमवासी त्यतिबेला झस्किए, जतिबेला सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्यायो। गेटामा विश्वविद्यालय बनाउने भनिएकोमा सरकारले बजेटमार्फत प्रतिष्ठान बनाउने र ६०० सैय्याको अस्पताल सञ्चालनार्थ भौतिक संरचना निर्माण भइसको अवस्थामा १०० सैय्याको अस्पताल सञ्चालन गर्ने जनायो।
आन्दोलनको नेतृत्व गरिरहेका कांग्रेस नेता लोकराज पाण्डेय आगो यो केन्द्र सरकारको मात्र नभएर सुदूरपश्चिमकै जनप्रतिनिधिको पनि कमजोरी रहेको बताउँछन्। ‘के यहाँबाट प्रधानमन्त्री, मन्त्री बन्नु भएको छैन र? उहाँहरूले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्यो भन्नुहुन्छ। आफू प्रधानमन्त्री, मन्त्री भएको बेला के गर्नुभयो भन्ने प्रश्न पनि उठाउनु पर्ने बेला भएको छ। हामीले यस्ता प्रश्न गरे उल्टै कारबाहीको धम्की दिनुहुन्छ। बरु कारबाही भोग्न तयार छौं। तर, जनताको स्वास्थ्यमाथि खेलबाड हुने विषय स्वीकार्य छैन,’ उनले भने।
![]()
गेटामा ५१ वटा भवन निर्माण भइसकेका छन्। ५ अरब ३३ करोड लागत रहेको र ७० बिगाह जमिन रहेको अवस्थामा सय सैय्याको अस्पताल बनाउँछु भन्नु सुदूरका जनताको स्वास्थ्यमाथि ठाडो रूपमा खेलबाड गर्न खोजिएको रूपमा आफूहरूले बुझेको आगोको भनाइ छ। केही दिन पहिले सरकारले नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेकोमा अहिले आफ्नै निर्णय विपरीत काम गर्नु आपत्ति जनक रहेको उनले बताए।
‘हाम्रो अरू रुचि केही छैन। हाम्रो स्वार्थ पनि छैन। सरकारले निर्णय गरे अनुरूप यसलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्छ भन्नेमात्र हो,’ उनले भने। पाँच पटक प्रधानमन्त्री र पटक पटक मन्त्री भइसकेका मान्छे सुदूरपश्चिममा रहेको बताउँदै उनले जनताको जीवनसँग जोडिएको विषयमा काम गर्न नसक्ने हो भने केका लागि राजनीति गरेको हो भन्दै प्रश्न समेत गरेका छन्।
दिलेन्द्र बडू, दामोदर भण्डारी र डिल्लीराज पन्तले संसद्मा बोले पनि ढिलागरि बोलेको उनको आरोप छ। सुदूरपश्चिमका जनताले सुलभ रूपमा स्वास्थ्य नपाउँदा कठिनाइ भोग्नुपरेको र खर्चिलो उपचार गर्न बाध्य हुनुपरेको उनको भनाइ छ।
‘हाम्रा गरिब जनता छन्। यहाँ राम्रो स्वास्थ्योपचारको व्यवस्था छैन। कि भारत पुग्नुपर्छ या त नेपालगन्ज वा काठमाडौं पुग्नुपर्छ। गम्भीर प्रकृतिका बिरामीले अस्पताल नपुग्दै अकालमा बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ,’ उनले भने।
आगामी सरकारमात्र नभएर वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्ड स्वयंले आफ्नै निर्णय विपरीत सुदूरपश्चिमलाई धोका दिएको आगोको आरोप छ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक एवम् सामाजिक क्षेत्रका जानकार सिताराम भट्ट पनि सुदूरपश्चिमकै नेताहरूको कमजोरीका कारण जनताले यस्तो समस्या खेप्नु परिरहेको बताउँछन्। ‘राज्य शक्तिमा हुने शासको दृष्टिकोण कर्णाली, सुदूरपश्चिम र मधेशप्रति हेपाह हो। यहाँबाट प्रधानमन्त्री मन्त्री भइसकेकाहरूको चाहना पनि बलियो भएन’, उनले भने।
यहाँकै नेताहरूले जनताका एजेण्डा गम्भीरताका साथ नलिएको उनको गुनासो छ। विकासका योजनाप्रति सुदूरपश्चिमका नेताहरूमा देखिनु पर्ने जति गाम्भीर्यता नदेखिएको र आफ्नै दुनो सोझ्याउनमात्र उद्दत हुने गरेको पाइएको भट्टले बताए। ‘हाम्रा लागि के चिज महत्त्वपूर्ण हो भन्ने त नेताहरूले बुझिदिनुपर्छ। सबै तिर बजेट कनिकाछराइ गर्नुभन्दा योजनावद्ध ढंगबाट महत्त्वपूर्ण योजनालाई प्राथमिकता दिनुपर्ने हो। आफ्नो दुनो सोझ्याउन र जनतालाई भ्रममा राख्नमात्र नेताहरूको दिमाग खर्चिने गरेको पाइएको छ,’ भट्टले भने।
आफू फस्ने कुरा कतैबाट भए दिनकै नेताहरू बसेर निष्कर्शमा ल्याउने भए पनि राष्ट्रिय महत्त्वका योजना भने नेताहरूको प्राथमिकतामा नगर्ने गरेको उनको गुनासो छ। नेताहरूले नसक्ने नभएर गर्न नचाहेको उनले बताए।
स्वास्थ्यमा सुविधासम्पन्न पूर्वाधार बनिनसकेको अवस्थामा नेताहरूले विभिन्न बखेडा झिकेर जनतालाई आन्दोलित पार्न खोज्नुमा मेडिकल माफियाहरूको ठूलो चंगोलमा सरकार र नेताहरू रहेको प्रस्ट भइरहेको उनले बताए।
यसका साथै आन्दोलनको स्वरुप फेरिनुपर्ने भट्टको धारणा छ। अहिले सामाजिक सञ्जाललगायत माध्यमबाट दवाव दिनुपर्ने भट्टले बताए। ‘हामीले यहाँबाट प्रत्येक जनप्रतिनिधिलाई म्यासेज गरौं। फोन गरौं। प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि त्यही गरौं। सामाजिक सञ्जालहरूबाट दवाव दिउ। आफ्नै पसल व्यावसाय बन्द गरेर सरकारलाई दवाव पुग्छ जस्तो मलाई लाग्दैन। अब प्रविधिको सदुपयोग गर्दै सरकार आफ्नो गलत निर्णय सच्याउन बाध्य हुने अवस्थाको सिर्जना गरौं,’ उनले भने।
कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले पनि बिहीबार संसद्मा सम्बोधन गर्दै गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनिएकोमा पुनः एक सय सैय्याको अस्पतालमा झारिएको भन्दै आपत्ति जनाए। ‘गेटा मेडिकल कलेजलाई किन हो किन राजनीतिक व्यक्तित्वहरूले खेलौना जस्तो बनाएका छन्। एक पटक मेडिकल कलेज बनाउने भन्छन्, फेरि प्रतिष्ठान बनाउने भन्छन्, फेरि विश्वविद्यालय भन्छन्। कहिले सय सैय्याको अस्पतालमा झार्ने भन्छन्। यो अन्योलमा जनतालाई राखिएकोमा जनता आन्दोलित छन्। म जताको आन्दोलनलाई समर्थन गर्छु। गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने विधेयक आओस् भन्ने चाहन्छौं,’ उनले भने।
यसरी गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका विषयमा जनताको आन्दोलन चर्को छ। बिहीबारमात्रै आन्दोलित जनताले नवनिर्मित भवनमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड नै टाँसेका छन्।