काठमाडौं- नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने अवधारणा अगाडि बढाइएको छ।
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुवै कार्यालय एकीकृत गरिने अवधारणा अगाडि बढाइने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयमा पद बहाली गरेपछि बताएका थिए। अब यो अवधारणा कार्यान्वयनमा आउने उनको भनाइ छ।
उनले जनताको गुनासोलाई सम्बोधन गर्न र शीघ्र सेवा प्रवाहको सुनिश्चितता गर्न मालपोत तथा नापी कार्यालयका सेवालाई विद्युतीय प्रणालीमा रूपान्तरण गरिनुका साथै दुवै कार्यालयको सेवा एकीकृत गरिने बताए। एकै प्रकृतिका दुई कार्यालय किन चाहिए र ती कार्यालयमा अधिक भ्रष्टाचार हुनेगरेको सुनिन्छनी भन्ने चैतन्यको प्रश्नमा उनले भने, ‘हामीले सुन्ने गुनासो पनि त्यही हो। त्यसैले यस्तो समस्या समाधानका लागि एकीकृत सेवाप्रवाह गर्ने छौं। आकस्मिक निरीक्षणको कार्य र तदनुरूप सुरधारकार्यलाई अगाडी बढाइएको छ। कर्मचारीको कार्यसम्पादनलाई मूल्याङ्कनसँग आबद्ध गरिएको छ। नापी र मालपोत कार्यालयलाई एकीकृत गरी एकै थलोबाट सेवा प्रदान गर्ने अवधारणा अगाडी बढाइएको छ।’
पदबहाली पश्चात ल्याएको मालपोत र नापी कार्यालय एकीकरणको अवधारणालाई यस वर्षको बजेट बक्तव्यमा राख्न पनि उनी सफल भएका छन्। यसबारे राखिएको जिज्ञासामा कार्यालय एकीकरणको अवधारणा बजेट बक्तव्यमा आउँदा खुशी लागेको उनले बताए।
नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको तथा सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना बनाइ अघि बढिने उनले जानकारी दिए।