काठमाडौं- नुवाकोटको विदुर नगरपालिका वडा नं. २ र ५ मा पर्ने तादी खोला आसपासमा सञ्चालित अस्फाल्ट प्लान्टका कारण अत्यधिक वायु प्रदूषण हुन गई स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर पारेको पाइएको छ। उक्त प्लान्टबाट निस्कने धुलो–धुवाँले दर्जनौं स्थानीबासी बिरामी परेपछि स्थानीय सरकारले बन्द गर्न वा स्थानान्तरण गर्न निर्देशन दिएको थियो।
अमृत निर्माण सेवा प्रालिद्वारा सञ्चालित उक्त उद्योगको अवधि २०७९ चैत्रमै सकिएको र यही जेष्ठ ५ गते अवधि थप गर्न माग गरेको तर जेष्ठ १६ को नगर कार्यपालिका बैठकले अवधि थपको अनुमति नदिई तुरुन्त बन्द वा स्थानान्तरण गर्न भनेको थियो।
नगर कार्यपालिकाको निर्णयअनुसार प्लान्ट सञ्चालन गर्ने कम्पनी मृत निर्माण सेवालाई पत्रसमेत काटिसकिएको अवस्थामा अर्को ३५ दिन चलाउन दिने ‘सेटिङ’ मिलाइएको पाइएको छ। नगर कार्यपालिका बैठकको निर्णयको बुँदामै माफियाको चलखेल रहेको पाइएको छ। नगरकार्यापालिकाको बैठकले गरेको निर्णयको अन्तिममा थपिएको छ– ‘बन्द नगरे वा ठाउँसारी नगरेमा ३५ दिनपछि कानून अनुसार कारबाही गर्ने।’
प्लान्ट सञ्चालन गर्ने कम्पनीसहितको मिलेमतोमा थप ३५ दिन सञ्चालन गर्न दिइएपछि यसप्रति स्थानीयले आपत्ति जनाएका छन्। यसका लागि पैसाको ठूलो चलखेल भएकोसमेत स्थानीय सरोकारवालाको आशंका छ।
उक्त प्लान्टका कारण जनजीवनमा गम्भीर असर परेपछि ११५ स्थानीयवासीले प्लान्ट बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।