काठमाडौं- केही दिनयता काठमाडौंसहित देशभरको तापक्रम बढ्दोक्रममा रहेको छ। तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको छ। काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् गोविन्द झाका अनुसार तराईका जनकपुर, सिमरा र भैरहवामा आज पनि गर्मी उच्च हुनेछ। यी क्षेत्रमा आज ४१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको उनले बताए।
जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ। आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको उनको भनाइ छ। तापक्रम निरन्तर बढ्नेक्रममा रहेको र अझै केही दिन तापक्रम बढ्ने उनले बताए।
आज पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको उनको भनाइ छ। वर्षा नहुँदासम्म गर्मी हुने क्रम पनि बढ्नेछ।
काठमाडौंमा पनि तापक्रम बढ्ने क्रममा रहेको र पानी नपर्दासम्म यस्तै अवस्था रहने मौसमविद् झाले बताए। काठमाडौंमा कम्तीमा तीन दिन अझै वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए।
यसैबीच, देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।