काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम छ। आज दिउसो ४ बजे सुरु हुने दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दैछन्।
सो बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने हुन्छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनको लागि नै आज मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. महतले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको छ।