कृषि सुधार शुल्कमा पूर्ण छुट हुनुपर्ने व्यवसायीको माग - Chaitanya News
  • 2026-05-02
  • 09:38:42
  • शनिबार,बैशाख १९, २०८३
  • कृषि सुधार शुल्कमा पूर्ण छुट हुनुपर्ने व्यवसायीको माग

    कृषि सुधार शुल्कमा पूर्ण छुट हुनुपर्ने व्यवसायीको माग

    काठमाडौँ– व्यवसायीहरूले कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्ण छुट हुनुपर्ने माग गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले भन्सार कर तथा राजस्वसम्बन्धमा गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले कृषिमा आधुनीकीकरण गरी उत्पादन बढाउनका लागि छुट हुनुपर्ने बताएका हुन्।

    भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउनुपर्ने विषयमा चेम्बरले जमलस्थित भवनमा वस्तुगत संघ एवं आवद्ध संस्था र व्यवसायीहरूसँग छलफल गरेको थियो। कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग पनि गरेका छन्।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए। उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए। अध्यक्ष मल्लले भने, ‘विश्व व्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्दछ।

    भन्सार नाकामा अन्तरराष्ट्रियस्तरको क्वारान्टाइन ल्यावको उचित व्यवस्थापन गरेर आयात–निर्यातलाई प्रभावकारी बनाउन समेत अध्यक्ष मल्लले आग्रह गरेका छन्। भन्सार कार्यालयका कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनँको भनाइ छ।

    अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजस्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए। सोकाा लागि बिल लिने–दिने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्। करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनुपर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दा सँगै पान कार्ड पनि दिलाउनुपर्ने बताए।

    अन्तरक्रिया कार्यक्रममा अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पु¥याउनुपर्नेमा जोड दिएका थिए। कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफुखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय चलाउन समस्या भएको उनीहरूको गुनासो छ। सीमा नाकाहरूमा हुने चोरी निकासीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको अधिकांश व्यवसायीको भनाइ छ।

    भन्सार कार्यालयहरूमा प्रज्ञापन पत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरू कम समयमा छिटो र झन्झटरहित सम्पन्न गर्न एकद्वार प्रणाली लागू गरिनुपर्ने चेम्बरको माग रहेको अध्यक्ष मल्लले बताए। चेम्बर अफ कमर्सको कर राजस्व तथा भन्सार समितिका सभापति परशुराम दाहालले कर राजस्वमा देखापरेका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए।