केही दिन पहिले पटक डोजर लिएर च्याम्रेङ बेसीको बाटो खोल्न निस्कन खोज्दै गर्दा हावाहुरी आयो। क्रियापुत्री च्याम्रेङ बेसी जानु पर्नेमा डुङ्ग खर्कमै बस्नु भयो। बास बस्नका लागि हामीसँग अतिथि गृह छैन। सबैका घर हुँदा सहज रूपमा बास पाउने अवस्था छैन। मानव विकासको कुरा गर्दै गर्दा हामीसँग कति मानवता छ। कति नैतिकता छ भन्ने कुरा सोचनीय विषय बनिसक्यो। यहाँ पानी पर्दा भल मानिसको घरमा पस्ने अवस्था छ।
हामी आफू जन्मेको ठाउँमा भौतिक पूर्वाधार निर्माणको क्रममा छौं। गाउँपालिकाले यस क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरेर नि:शुल्क लोकसेवा तयारी कक्षा दिने भएको छ। युवाहरू सार्वजनिक सेवाप्रति आकर्षित हुन सकुन् भन्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौं। यही ठाउँबाट नवराज घिमिरे सहसचिव हुनुहुन्छ, कुमार तिमिल्सिना सार्वजनिक सेवामा ठूलो योगदान पुर्याएर अमेरिका बस्नु भएको छ। र, त्यहाँबाट पनि लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूका लागि आइक्युका कक्षामा अनलाइनबाटै अध्यापन गराइरहनु भएको छ।
कर्मचारी तन्त्रले एउटा स्थायी सरकारको रूपमा काम गरिरहेको हुन्छ। त्यसैले एउटा स्थायी पोलिसी बनाएर काम गर्दा देश बन्नका लागि समय लाग्दैन भनेको कारण त्यो पनि हो। मसँग पढेका धेरै साथी अमेरिका हुनुहुन्छ। मलाई पनि धेरै साथीहरूले यो फोहोरी राजनीति नगर, आउँ अमेरिका भनेका थिए। तर, मैले मेरो जीवनलाई राजनीतिका माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याउँछु ठानेको छु। र, त्यही कर्ममा छु। पालिकाको युवा शिक्षित जनशक्ति लोकसेवाको तयारी गर्दै सार्वजनिक प्रशासनका माध्यमबाट राष्ट्र सेवामा लागुन् भन्ने मेरो चाहना रहेको छ।
यही ठाउँको कुमार तिमिल्सिना जीले जीवनमा ठूलो मिहिनेत गर्नुभयो। आज हामी सबैको आकर्षणको विन्दु हुनुभएको छ। उहाँ एलएलबी गरेको मान्छे। अमेरिका नगएको भए बेथानचोकको पहिलो न्यायाधीश भइसकेको हुनुहुन्थ्यो। उहाँ अमेरिका नगइदिएको भए हामी सबैका लागि ठूलो सौभाग्य हुन्थ्यो। अमेरिका गएर पनि उहाँले हजारौं विद्यार्थीलाई अध्यापन गराइरहनु भएको छ। आफ्नो विद्वताको अभाव लोकसेवा तयारी गर्ने विद्यार्थीहरूलाई खड्किन दिनु भएको छैन। त्यसैले अहिले उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरू पनि देशको दक्ष जनशक्ति बन्न सक्छ। सबैमा सम्भावना छ। हामीले त्यो सम्भावनाको पहिचान गर्दै निखारता ल्याउन सक्नुपर्यो।
यहीको विद्यालयमा बढेर, यहीको घट्टमा पिसेको पिठो खाएर, यही पानी पिएर, यही जंगलको खस्रु काटेर गएका साथीहरूको नाम सुन्दा हामीलाई खुसी लाग्छ। यो सम्भावना म प्रत्येक शिक्षित युवामा देख्छु। तर, हामी हाम्रै क्षेत्रका सफल व्यक्तिबाट प्रेरणा पनि लिन सक्दैनौं र उनीहरूको नाम स्मरण पनि गर्न सक्दैनौं। हामी एक अर्काको कुरा काट्दै बसेका छौं। हाम्रो सिंगो गाउँपालिका भनेको बेथानचोकको चार दोबाटो हो। आफ्नी श्रीमती र आमाले दुई दिएको दूध बोकेर फर्किएपछि कसको कति टीकाटिप्पणी गर्न सकिन्छ, कसको कति उछितो काट्न सकिन्छ हामी त्यसमा सक्रिय हुन्छौं। यो खराब प्रवृत्तिलाई चिर्ने काम यहाँकै युवाको काँधमा छ। हामी यसरी चल्दा यसरी नै चलिरहन्छ। यहाँको भूगोल राम्रो छ, ठाउँ ठिक छ तर मानिस साह्रै नजाती रहेछन् भन्दा हामीहरूकै बदनाम हुने हो।
हामीमा सकारात्मक र परिवर्तनको चिन्तन हुँदैन। एक अर्काको उछितो काट्ने प्रतिस्पर्धा हुन्छ। फेसबुकमा एक अर्कालाई गालीगलौज गरिरहेका हुन्छौं। हामी फेसबुकमा के लेखेको छ, त्यो पढ्दैनौं। नपढेरै गाली गर्न थाल्छौं। हामी फेसबुकमा लेखेको स्ट्याटस पढेर त्यसको मर्म त बुझ्दैनौं भने लोकसेवा तयारी गरेर पास हुन कति मिहिनेत र धैर्यता चाहिएला? लोकसेवा पास गर्न ठूलो तपस्या गर्नुपर्छ। तुरुन्त प्रतिक्रिया त जसले पनि दिन सक्छ नि। प्रतिक्रिया तुरुन्त दिनेहरू असल मानिस होइनन्।
प्रत्येक शिक्षित व्यक्ति बेथानचोकको मुटु बन्न सक्छन्। महिला वा पुरुष भनेर विभेद गरिनु हुँदैन। जसमा पनि सम्भावना छ। प्रत्येक युवामा स्विचको सम्भावना छ। हामीले स्विचको बटन दबाउँदा उज्यालो हुन्छ, त्यसैगरि क्षमताको बटन दबायौं भने पनि हाम्रो ठाउँसँगै मानिसको जीवन नै उज्यालो हुनसक्छ। हामी चहान्छौं तपाईंहरूको विद्वताको स्विच बेथानचोकमा थिच्दा नेपाल उज्यालो हुनसकोस्। हामीले त्यही स्विच बनाउनका लागि बेथानचोकमा लोकसेवाको तयारी कक्षा सञ्चालन गरेका हौं। हाम्रो प्राण र श्वास यहाँका शिक्षित युवा नै हुन्। हामी तपाईंहरूबाट निकै आसावादी छौं। नबुझ्नेहरूले टीकाटिप्पणी गर्दै गरुन्। शिक्षित युवा जनशक्ति हामीसँगै विकास निर्माण, परिवर्तन र समृद्धिको सहयात्री बन्न सकोस्।
हामीले जनतालाई हेरेर काम गर्ने हो। यहाँ त हामीले काम गर्न खोजेको वर्ग नै सकारात्मक छैन। च्याम्रेङ बेसीको सडक भत्किँदा हामीले २०औं खर्च गरेर बनाछौं। तर, झिटीगुन्टा बोकेर पनौती बनेपा जाने हो भने हामीले कस्लाई हेरेर विकास गर्ने। मानिसमा निराशा छाउँछ। तपाईंले हेर्दा तपाईं हामीले हेर्दा हामी निराश हुने हो भने यो देश निराशाले नै सकिन्छ। त्यसो गर्दा विकास गर्न गाह्रो छ। यस्तो अवस्थामा बिदेसिएर नागरिक ज्यालामजदूरी गर्न बाध्य हुन्छ। हामीले विदेश जाने सपना बनाउनुपर्छ तर उच्च ओहदामा पुग्ने गरी देशको नीति निर्माता तहको कुरा बोकेर जाने हैसियत बनाउनुपर्छ। गाउँपालिका युवाहरूका सपना पुरा गर्न सधैँ तल्लीन छ। बेथानचोकबाट काठमाडौं पुगेर काम गरेर यही बस्न सक्ने अवस्था सिर्जना गर्न हामी तयार छौं। हामीले त सुरुङ मार्गको परिकल्पना गरेको छु।
(बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सोमबार पालिकामा आयोजित कार्यक्रममा सम्बोधन कारेको अभिव्यक्तिको सम्पादित अंश)
यो पनि पढ्नुहोस्,