एक विद्रोही कविको अविराम हस्ताक्षर - Chaitanya News
  • 2026-04-30
  • 11:56:01
  • बिहिबार,बैशाख १७, २०८३
  • एक विद्रोही कविको अविराम हस्ताक्षर

    एक विद्रोही कविको अविराम हस्ताक्षर

    विमल निभा नेपाली कविताको जगतमा करिब साढे पाँच दशक देखि सक्रिय एक शक्तिशाली नाम हो। उनै बलशाली कवि बिमल निभाको पछिल्लो कबिता कृति हो डेगेन्द्र राजबँशीको आत्महत्या २०७८। जुन कृति क्रान्तीकारी कबिताहरुको एक महत्त्वपूर्ण दस्तावेज हो।

    पुस्तकको बिशिस्टता र गम्भिरता यो छकि पुस्तकको नाम एक बामपंथी योद्धा डेगेन्द्र राजबँशीको आत्महत्यासँग जोडिएको छ। २०२८ ताका झापा आन्दोलनमा होमिएका वामपन्थी योद्धा डेगेन्द्र राजवँशी आत्महत्या गर्नुभन्दा केहि दिन अगाडी काठमाडौं छिरेका थिए छोराको रोजगारीको लागि। काठमाडौं छिरेपछि छोरालाई जागिरको भिख माग्दै एमाले पाटी कार्यालय बल्खु पुगेर समकालीनसँग हात जोडनु उनको दैनिकी बनेको थियो। तर उनी हरेक दिन निरस मन र निरर्थक हात बनाएर फर्किन्थे। झापा आन्दोलन पश्चात् चप्पल लगाएर काठमाडौं पसेका सहयात्रीहरुले आलिसान महल बनाउँदै , करोडौंका गाडीमा हुईँकिदै बिलासी जिबनशैली बिताईरहेको बर्तमान उनकै आँखा अगाडी थियो। तर उता डेगेन्द्रको पारीवारिक स्थिती प्रतिदिन कठिन बन्दै गैरहेको थियो। तेहि गरिबिको पिँधबाट माथी आउने बाटो पहिल्याउँदै उनी छोरालाई लिएर देशकै केन्द्र काठमाडौं आईपुग्छन जहाँ थियो उनैले गोडमेल गरेको पाटीको सरकार। तर पुँजिवादले गजधम्म ढाकेको सत्ताले भुँईमान्छेहरुलाई नदेख्छ र नसुन्छ र यहि नै कुरुप यथार्थ थियो। कोठा र बल्खु बिचको दुरी नाप्दा नाप्दै थाकेका राजवँशीका पैतालाले सदाको लागि विश्राम लिने सोच्छन र तेहि रात तथाकथित कम्युनिष्ट पाटीको हेडक्वार्टर बल्खु कार्यालयको अगाडीको आरुबखडाको हाँगामा झुन्डिएर आत्महत्या गर्छन। तर कम्युनिष्ट आन्दोलनको लागि यो आत्महत्या थिएन हत्या थियो कवि बिमल निभा यसै भन्छन।

    यस्तै बर्गिय उत्पिडनको जाँतोमा पिसिएका कैयौँ डेगेन्द्र राजवँशीहरुलाई कबिता मार्फत पुस्तकमा उतारेका छन कबिले।

    कविता सँग्रहमा जम्मा जम्मी ७० वटा कविताहरु छन। हरेक कविताहरुले देशलाई बोकेका छन। राष्ट्रियता र जनजिबिकाका पक्षमा आफूलाई खरो रुपमा उतार्न पोख्त कवि बिमल निभा यस पुस्तकमा पनि उतिकै बुलन्द भएर आएका छन। राजनीतिक रुपले जुनसुकै व्यवस्था आएपनि आम मानिसहरुको जिन्दगीमा कुनै फेरबदल नआउनुको बिडम्बनाको बिचमा आउने पुस्ताले यो देशमा पक्कै आमुल परिवर्तनको झण्डा गाड्नेछन भन्ने दृढ आत्मविश्वास देखिन्छ निभाका कविताहरुमा।

    लडाकाहरु अहिले पनि
    आमाको पेटमा छन
    तिनीहरु मध्ये थुप्रैको
    सहादत निश्चितै छ भन्ने
    खवर उडिरहेको छ हावामा
    …त्याहाँबाट बाहिर आउनासाथ
    लडाई थालिनेछ।
    आमाको पेटमा नै पढेका हुन
    लडाकाहरुले उन्मुक्तीको
    आख्यान।

    यो कविता कबिले प्यालेस्टाईन जनतालाई समर्पित गरेता पनि, कतै हराईरहेको नेपाली उन्मुक्तिको आन्दोलनलाई यस कविताले चाँदीको घेरा दिने काम गर्छ। भित्ताहरुमा लेखिएका नारा मेटिन नपाउँदै पुँजिबादसँगै अपहरित क्रान्ती प्रतिको जागरणबोध गराउँछ।

    देश बनाउँछु भनेर देश र जनताप्रति नै गद्दारी गरेर सत्ताकै वरिपरि रहनेहरुलाई तीखो ब्यङग्य गरिएको छ कबिता एघार गद्दारमा। उसो त व्यङग्यबादी साहित्यकारको रुपमा पनि छुट्टै पहिचान छ कविको। कबिता एघार गद्दार यसो भन्छ।

    एउटा गद्दार
    त्यो गल्ली छेऊको
    अग्लो घरको छायाकक्षमा बस्छ।
    दोस्रो गद्दार
    साप्ताहिक सयर गर्न
    सबडिगार्ड गएको छ
    नागार्जुन डाँडा।
    ‍‍…….
    छैटौं गद्दार
    मुख्य अतिथि भै भाग लिन
    गएको छ धर्मसभामा।
    एघारौं गद्दार
    नयाँ गद्दार भएकोले अल्मलिएर
    चुपचाप टोलाईरहेको छ।

    जनतालाई केवल भोट बैँक मात्र सोच्ने तर जनताप्रति नै अनुत्तरदायी हुने शासकहरु प्रति व्यङ्गयात्मक आलोचना पाईन्छ कवितामा र आफनो सत्ता जोगाउन बिदेशी राजदुतका ढोका ढोका पुग्ने प्रवृत्तिको पर्दाफास गरेको छ यो कबिताले।

    बिमल निभाका कबिताले केवल आफ्नो देश र समाजका बारेमा मात्र बोल्दैनन्। उनका कबिताहरु विश्वको सिँगो प्रणाली बिरुद्ध बोल्छन। यसलाई यसो पनि भनौँ उनका कविताहरु विश्व भुमण्डलिकरण , उपनिवेशीकरणका बिरुद्ध अझ शक्तिशाली भएर आउँछन। उनले दशकौँ देखि अँगालेको बैचारिक दृढता पनि यहि हो कि उनी आफुलाई मार्क्सबादी भन्न रुचाउँछन। तेसैले उनको दृष्टिकोण अन्तर्राष्ट्रियतावादी छ।

    कविता ह्वाईट हाउसको काव्यात्मक अभिब्यक्ती यसो छ।

    विभिन्न रङले
    जगमग जगमग
    गरिरहेको ह्वाईट हाउस
    अन्तत: ह्वाईट हाउस नै हो
    पुरै ह्वाईट हाउस ,एउटा खलविचार
    अर्थात
    रङभेदी चेतको पर्मानेन्ट प्रतीक
    ह्वाईट हाउस

    कबिता भोक पढिरहँदा एकातिर सत्ता विरुद्धको उनको विद्रोह अझै मुखरित भएर आउँछ भने सोनचरैया कबिता भित्र मधेसमा दाइजो नल्याएको निहुँमा हत्या गरिएका कैयौँ छोरीहरु प्रतिको कविको प्रेम र संवेदना महसुस हुन्छ।

    मुलुकमा लोकतान्त्रिक गणतन्त्र आईसक्दा पनि गरिखाने श्रमजिवी बर्गका लागि हिजोको राजतन्त्रातमक व्यवस्था भन्दा कुनै अन्तर छैन यो व्यवस्था। अझ परिवर्तनकारी र मुक्तिवादी शक्तिहरुबाट नै ऊनिहरु प्रति हेरिने दृष्टिकोण र गरिने व्यवहार उहि सामन्तकालिन छ। यहि बिषयको काव्यात्मक अभिब्यक्ति छ कबिता बग्गी घोडामा।

    म बग्गिमा जोतिएको घोडा
    मलाई थाहा छैन को सवार छ बग्गीमा
    राजा या गणतान्त्रिक मुलुकको
    राष्ट्रपति।
    दुबैको भारमा त्यस्तो अन्तर छैन कुनै।

    बग्गीलाई निरन्तर तानिरहने
    मेरा पयरहरु भईसकेका छन गलित
    र मेरो कमजोर काँधपनि
    यस्तो सान सौकतको भारी बग्गी
    तान्न भैसकेको छ।
    असमर्थ पुरै

    अब कुनै पनि बेला
    बग्गीमा बस्नेलाई झट्कारेर
    म फाल्न सक्छु तल।

    सानदार ब्यङग्यातम चेत र उसैगरी विद्रोहको बोध पाईनु निभाका कबिताहरुको अर्को बिशेषता हुन। कबिताहरु पढिरहँदा ती कबिताहरु पाठकलाई आफ्ना लाग्न थाल्छन। कथित व्यवस्था प्रति एउटा कवि कतिसम्म आक्रामक हुन सक्छ। बिमल निभाका कबिता पढेपछि थाहा हुन्छ।

    बेला पब्लिकेसन्सद्वारा प्रकाशित कबिता सँग्रह डेगेन्द्र राजबँशीको आत्महत्या प्रगतिशिल कविताहरुको एक सँग्रहनिय कृति हो। कविताहरुको शब्द सँयोजन र शब्द छनोटले सँग्रह अझ कलात्मक भएको छ। पाठकलाई शब्दहरुसँगै डोर्याउन सक्नु लेखकको अर्को मजबुत पक्ष हो। हामीले बर्षौँदेखि भोग्दै आएका शोषण र उत्पिडन बिरुद्धको तिब्र आक्रोष, बिम्बात्मक ढँगले सत्ताको तीखो आलोचना र बिषयबस्तुहरुको गम्भीर उठान सँग्रहका मुख्य बिशेषता हुन। समकालिन बामपंथी लेखकहरुमा देखिएको विचलन र पलयानताको बिचमा कवि विमल निभाको लेखनीको उचाई अविराम छ।