आरजुको रवाफ, कांग्रेस सभापतिलाई दबाब - Chaitanya News
  • 2026-11-21
  • 03:18:39
  • शुक्रबार,मंसिर ०५, २०८३
  • आरजुको रवाफ, कांग्रेस सभापतिलाई दबाब

    आरजुको रवाफ, कांग्रेस सभापतिलाई दबाब

    काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो त छदै थियो। त्यसैमा पत्नी आरजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सभापति शेरबहादुर देउवा तनावमा देखिएका छन्।

    सुदृढीकरण हुन नसकेको र सभापति देउवाका कारण पार्टी गतिशील हुन नसकेको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको समयमा पत्नीसहित कांग्रेसभित्रका देउवाका विश्वासिला पात्रहरू उक्त प्रकरणमा मुछिएसँगै देउवा दोहोरो दबाबमा परेका हुन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण र महाधिवेशन प्रतिनिधि एवं पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्। हिरासतमा रहेका खाण र शेर्पासँग प्रहरीले बयान लिइरहेको छ।

    उता केही दिन पहिले सभापति देउवा पत्नीसमेत रहेकी राणा र खाण पत्नी मञ्जु खाणबीच नक्कली भुटानी शरणार्थी प्रकरण बारेको अडियो सार्वजनिक भएको थियो। खाण पक्राउ परेपछि मञ्जु सम्पर्क विहीन छिन्। यता राणाले भने उक्त अडियो नक्कली भएको भन्दै छानबिनको मागसहित प्रहरीमा उजुरी गरेकी छन्। र, विभिन्न सञ्चार माध्यममा उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरिरहेकी छन्।

    राणाले एउटा अन्तरवार्ताका क्रममा छोरा जयबिरसिंह देउवाको कसम नै खाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछ्न खोजिएको र स‌ंलग्नता नरहेको दाबी नै गरेकी थिइन्। तर, पटक-पटक लेनदेनको विवादमा आइरहने भएकाले राणातर्फ मोडिएको शङ्काको स्वीलाई आम मानिसले उनी संलग्न नै थिइन् भन्ने रूपमा बुझिरहेका छन्।

    कांग्रेस सांसदसमेत रहेकी केन्द्रीय सदस्य राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्रहत्या गरिएको दाबीसमेत गरिरहेकी छन्। उनी मिडियामा पुगेर आफू निर्दोष रहेको प्रमाणित गर्न त खोजिरहेकी छन्। तर, अन्तरवार्ताका क्रममा के बोल्ने र के बोले भन्नेसम्म उनलाई भेउ हुँदैन।

    सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली ‘फेक अडियो’ छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन आफूले प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको बताइन्।

    ‘मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सीबीआई र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन। यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला, सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर। तीन घण्टा लाग्यो त्यो दर्ता गराउन। त्यसको जवाफ म गृहमन्त्रालयबाट चाहन्छु। अलमल किन थियो दर्ता गर्न? ६ दिन हुँदा पनि यो फेक हो कि होइन? भनेर किन बताउन सकेको छैन?,’ उनले भनिन्।

    ठूलो नेताको श्रीमती उनको रवाफिलो शब्द थियो। उक्त शब्द प्रयोगपछि आरजुलाई राणाको छोरी नै भएको धङधङी अझै कायम रहेको भन्दै धेरैले विरोध गरे।

    पार्टी बाहिरमात्र नभएर भित्रैबाट पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने आवाज उठ्न थालेको छ। कांग्रेस महामन्त्री गगन थापाले मंगलबार वक्तव्य जारी गर्दै यो प्रकरणमा जोडिएर पक्राउ परेकाहरूलाई पार्टीले निलम्बन गर्नुपर्ने बताएका छन्।

    हिरासतमा रहेका खाण र शेर्पासँग प्रहरीले बयान लिइरहेको बेला महामन्त्री थापाले उनीहरूलाई जोगाउने काम गर्न नहुने बताएका हुन्।

    शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरूको निजी विषय हुने थापाले वक्तव्यमा जनाएका छन्।

    ‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ। अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ। पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ,’ उनले भनेका छन्।

    पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा पाइसकेपछि पार्टीले त्यसको भारी बोक्न नहुने थापाले बताए।

    थापाले वक्तव्यमा भनेका छन्,‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुनसक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन। पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो–अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोषी छुट्याउने कानुनी प्रक्रियाबाट हो।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीआबद्ध हरेक सदस्यले छानबिन प्रक्रियालाई सघाउनुपर्ने थापाको भनाइ छ।

    महामन्त्री थापाले अगाडि भनेका छन्,‘आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुनबमोजिम सजाय पाउनै पर्छ। जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने स्वाभाविक हो र पार्टीका साथीहरूले त्यहीअनुसार बुझ्नुपर्छ।’

    उनले शरणार्थी प्रकरणको मात्रै नभएर अख्तियार दुरुपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतका अन्य मुद्दाहरूको पनि निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने जिकिर गरेका छन्।

    कांग्रेस सभापति देउवालाई यो प्रकरणको मात्र तनाव छैन। पार्टीभित्र उनको कार्यशैलीको चर्को आलोचना भइरहेको छ। महाधिवेशन भएको १७ महिना बित्दा पनि नीति अधिवेशन बोलाउन नसकेको, भ्रातृ तथा शुभेच्छुक सं‌गठनहरूलाई पूर्णता नदिएर अनिर्णयको बन्दी बनाएको, उनकै असफलताका कारण उपनिर्वाचनमा पराजय भोग्नु परेकोलगायत थुप्रै आरोप लगाउँदै पार्टीभित्र चरम असन्तुष्टि बढिरहेको छ।

    कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाको कार्यशैलीप्रति पटक-पटक सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाउँदै आएका छन्। थापाले त अब अति भयो भन्दै सहनै नसकिने अवस्था सिर्जना भएको सम्म टिप्पणी गर्न भ्याएका थिए।

    मंगलबारमात्रै कांग्रेसका केही नेताहरूले नेतृत्वमा सुधारको कुनै सम्भावना नदेखिएको भन्दै रूपान्तरण अभियान थालिने बताएका छन्। कांग्रेस रूपान्तरण अभियानको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले रूपान्तरण अभियान थालिने बताए।

    कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले नेतृत्वले पार्टीलाई सुधार्ने कुनै सम्भावना नदेखेपछि बाहिरको विकल्प रोजिएको बताएका छन्। केन्द्रीय कार्य समितिमा कुरा राख्दा पनि सुधारको कुनै सम्भावना नदेखिएपछि अभियान थालिएको उनले बताए। कांग्रेसले पटक पटक निर्वाचन हार्दा पनि नेतृत्वले नचेतेको उनको भनाइ छ।

    यस्तै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले गुट रहित र सशक्त पार्टी निर्माणका लागि यो अभियानको थालनी गरिएको जानकारी दिए। उनले कुनै गुट उपगुट भन्दा पनि कांग्रेस सुदृढीकरणका लागि थालिएको स्वतःस्फूर्त कार्यक्रम भएको बताए।

    आरजुको रवाफ र पार्टीको किचलोका कारण सभापति देउवा भने निकै दबाबमा देखिएका छन्।