निजामति कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना - Chaitanya News
  • 2026-11-21
  • 01:18:34
  • शुक्रबार,मंसिर ०५, २०८३
  • निजामति कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना

    निजामति कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना

    काठमाडौं –  निजामति कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।

    बिहीबार संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।

    उनीहरुले संघीय निजामति ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए ।

    धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताउनुभयो ।

    उहाँले संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताउनुभयो ।

    यसअघि पनि निजामति कर्मचारीहरुले संघीय निजामति ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।