काठमाडौं – नक्कली भुटानी शरणार्थी मुुद्दामा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट रायमाझीलाई पक्राउ पूर्जी जारी भएको हो ।
अमेरिका लैजने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग संलग्नता देखिएको भन्दै प्रहरीले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । रायमाझी नेकपा एमालेका केन्द्रीय सचिव हुन् । उनी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
पक्राउ पूर्जी जारी भएका रायमाझीले पक्राउ पूर्जीबारे जानकारी नभएको बताएका छन् । अर्घाखाँचीमा रहेका रायमाझीले भने, ‘दलालहरू के÷के गर्छन्, मलाई केही थाहा छैन । यसबारे कुनै जानकारी समेत छैन, मलाई यस विषयमा प्रहरीले कुनै सोधपुछ समेत गरेको छैन ।’
रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ पूर्जी जारी गरिएको थियो । सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका छन् । यो मुद्दामा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पक्राउ पूर्जी जारी भएपछि पूर्व गृहसचिव पाण्डे आफै प्रहरी सम्पर्कमा गएका थिए ।
सचिव पाण्डेलाई २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृह सचिव थिए । त्यही बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा उनीमाथि लागेको छ । यद्यपि, २०७६ सालमा भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल गठन भएको थियो ।
तर, उक्त कार्यदलले गरेको अध्यययन भने हालसम्म पनि गोप्य नै राखिएको छ । उक्त प्रतिवेदनमा ८ सय बढी नक्कली शरणार्थीको नाम उल्लेख भएको स्रोतले बताउँदै आएको छ ।
नक्कली शरणार्थी मुद्दामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । रु. ५ करोड बढी रकम लिएको अभियुक्तको बयानबाट आधारमा राईलाई नियन्त्रणमा लिएर असन्धान थालिएको हो । नक्कली शरणार्थी बनाउने मुद्दामा गत १२ चैतमा केशव दुलाल, सानु भट्टराई र टंककुमार गुरुङ पक्राउ परेका थिए ।
पक्राउ परेका यी तीन जनाको बयानका आधारमा तत्कालीन गृह मन्त्रीका सुरक्षा सल्लाहकार राई, तत्कालीन गृह सचिव पाण्डे, पूर्वमन्त्री टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा तानिएका हुन् ।
पक्राउ परेका र पक्राउ पूर्जी जारी भएकाहरुमाथि संगठित अपराध कसूर मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । यसरी नक्कली शरणार्थी बनाउने मुद्दामा संलग्न मुद्दामा बहालवाला सचिवदेखि उच्च राजनीतिक नेताहरु तानिदै गएका छन् ।
तत्कालीन गृहमन्त्री थापा अहिले एमालेका केन्द्रीय उपाध्यक्ष छन् । त्यसैले यो अहिलेसम्मकै ठूलो मुद्दा बन्ने देखिन्छ ।