ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई दिइयो आशयपत्र - Chaitanya News
  • 2026-06-17
  • 03:23:27
  • मंगलबार,आषाढ ०२, २०८३
  • ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई दिइयो आशयपत्र

    ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई दिइयो आशयपत्र

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ।

    बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो। अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए।

    हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका छन्।

    यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन्।

    नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेकोमा उक्त कार्यका लागि आशयपत्र पाएको हो। अन्यले भने सीमित कार्य गर्ने दलालका रूपमा काम गर्नेछन्।

    धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ। बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ।