२१औं सताब्दी, छुवाछुत र जातीय विभेद्का जरा - Chaitanya News
  • 2026-05-14
  • 22:00:27
  • बिहिबार,बैशाख ३१, २०८३
  • २१औं सताब्दी, छुवाछुत र जातीय विभेद्का जरा

    हामीहरूले अवलम्बन गर्दै आइरहेका रीतिरिवाज , रहन सहन, परम्परा, चालचलन, भेषभूषा, मूल्य मान्यता, चाडपर्व, आस्था र विश्वास आदिले हाम्रो समाजको चेतना र चिन्तन, स्वभाव र संवेदनाको स्तर कति मानवीय वा अमानवीय छ भन्ने स्पष्ट पार्दछन्। नेपाली समाजको चरित्र आज राजनीतिक रूपमा फरक ढंगले परिभाषित भएको छ। हिजो सामाजिक रूपमा मात्र परिभाषित  थियो। सामाजिक रूपमा परिभाषित माथि उल्लेखित सांस्कृतिक सामाजिक र धार्मिक अवयवहरूले विभेद, असमानता, शोषण, बहिष्करण, बञ्चितिकरण र अपमानलाई मलजल गरिरहेका थिए। सामाजिक परिभाषाको जनजीवनमा यस्तो प्रभाव परेकोछ कि यसले जीवन पद्धतिलाई रुग्ण बनाई दिएको छ। जुन वर्तमानमा पनि जस्ताको त्यस्तै चलिरहेकोछ। देशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनले हाम्रो सामाजिक मूल्य मान्यता, रीतिरिवाज , परम्पराहरू मध्ये कतिपयलाई अब अभ्यास गर्न नपाईने भनी स्पष्ट परिभाषा गरिसकेका छन्।

    वि.स. २००७ को जनक्रान्तिले विद्यालयको पठनपाठ सबै जातजाति र समुदायलाई सहज बनाउँदै लग्यो। वि.सं. २०४६ को जन आन्दोलनले नेपाली समाजमा विद्यमान सबै किसिमका विभेदविरुद्ध लड्न गाउँबस्तीलाई सशक्त हुन, संगठित हुन मार्ग प्रसस्त गर्‍यो। कमैया मुक्ति घोषणा, संसदबाट दलित समुदायलाई मठमन्दिर खुला घोषणा, भूमिमा हदबन्दी र महिला अधिकारको घोषणा यसै जन आन्दोलनका युगान्तकारी उपलब्धी हुन्। त्यस्तै वि.सं. २०५२ फागुन १ गते सुरु भएको १० वर्षे नेकपा माओवादीको सशस्त्र विद्रोह र वि.सं. २०६२/०६३ लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण उपलब्धिका रुपमा गणतन्त्र , संघ‍ीयता, धर्म निरपेक्षता, संविधान सभाको निर्वाचन, राज्यको पूनर्संरचना र नेपालको संविधान २०७२ हुन्।

    नेपालको संविधान २०७२ ले सामाजिक सांस्कृतिक क्षेत्रीय जातीय, लैंगिक, भाषिकलगायत विभेदलाई निस्तेज गरेको छ। तर नेपाली समाज यस्तो छ कि जे उपलब्धिका लागि बर्षौं लड्यो त्यस्को प्राप्तिपछि पनि प्राप्त उपलब्धिलाई आत्मसात गर्न सकिरहेको छैन। लैंगिक विभेद अझै कायम छ। क्षेत्रीय र भाषिक उत्पिडन उत्पिडितहरूले प्रत्यक्ष भोगिरहेकै छन्। जातीय विभेद र छुवाछुत त झन सतहमा बेला-बेलामा पशुवत देखापर्छ र देशलाई नै लज्जित बनाउँछ। जसले परिवर्तनका लागि त्याग र संघर्ष गरे पीडा र कष्ट उठाए तीनै मानिसहरू विभेद गर्ने अन्यायी ठहरिएका छन्। राजनीतिक रुपमा अग्रगामी परिवर्तनतर्फ प्रवेश गरिरहेको देशको सामाजिक परिवेश बहुलवादी चेतना र चिन्तनको यात्रातिर अशक्त, असक्षम र पंगु सावित भएको छ। मन्दिर प्रवेश गर्‍यो , धारा इनार छोयो, अन्तजातीय विवाह गर्‍यो, चुल्हो छोयो, भनेर अपमानित, अवहेलित, उत्पिडित र जातीय छुवाछुतको सिकार त भएकै छन्। ज्यानै गुमानु पर्ने अवस्था सम्ममा नी पुगेका छन्।

    हामी हाम्रा सामाजिक मूल्य, मान्यता, आस्था, विश्वास, परम्परा, रीतिरिवाज, रहनसहन, भेषभुषाको उन्नयन गर्नका लागि धेरै चिन्तन, मनन्, छलफल, गोष्ठि, अन्तरक्रिया, अनुअसंधान गरिरहेका छौं। यो यसकारण गरिरहेका छौं कि हामीलाई लाग्न थालेको छ हाम्रो सांस्कृतिक सामाजिक सम्पदाहरूको अभ्यासमा ह्रास हुँदैछ। यी सम्पदाहरूको ह्रास हुनु हुदैन् भनेर गरिएको चिन्ता र संरक्षणको प्रयास प्रसंशनीय कार्य नै हो। तर जे समस्या हो, जहाँ समस्या छ त्यहाँ  नपुगेर, त्यसका बारेमा नबोलेर यावत प्रयासको कुनै अर्थ रहँदैन। अर्थपूर्ण प्रयत्न गर्न यदि हामी तयार छौं भने रोग के हो? कहाँ छ थहा भए जति बोल्न सुरु गर्नैपर्छ। नत्र भने हामीहरूले गर्ने गरेका प्रयासहरू नतिजाविहीन हल्ला मात्र प्रमाणित हुनेछन्।

    अहिले हाम्रा सामाजिक साँस्कृतिक सम्पदाहरू सबै ह्रास भैरहेका छन् भन्ने मात्रै  होइन। केही समृद्धिको यात्रा पनि गरिरहेका छन्। केही भने लोप हुने अवस्थामा पुगेका छन्। विशेष गरेर दलित समुदायले अभ्यास गरिरहेका सांस्कृतिक विधाहरू संकटमा परिहेका छन्। कारण मनोरञ्जन र अनुसंधानको समय आयो भने उपयोग गर्ने त्यसपछि बिर्सने मात्र होइन, जातीय विभेद र छुवाछुतसमेत गर्ने अनि समाजमा दलित समुदाय माथी हुने विभेद, हिंसा, छुवाछुत हुँदा मौन रहने प्रवृत्तिले नयाँ पुस्ताले अग्रजको कला, शीप र ज्ञान ग्रहण गर्न छोड्दै गइरहेका छन्। जुन सीप, कला र ज्ञान आर्जन गर्न गरेको परिश्रमले सम्मानको सट्टा अपमान हुने प्रवृत्ती हावी भइरहेको छ। अनि को त्यस्ता सीप, कला र ज्ञान आर्जन गरि अपमानित हुन तयार होला।

    त्यस्तै सुदूरपश्चिममा ईतिहास, भाषा, साहित्य, राजनीति, संगीत, नृत्य, अभिनय, संस्कृतिलगायतका अनेकौं विधाहरूले युक्त हुड्केलीको अवस्था झण्डै झण्डै लोप हुने अवस्था पुगिसकेको जस्तो देखिन्छ। नयाँ पुस्ताले यो हुड्केली विधालाई बहिष्कार जस्तै गर्नुपर्ने एउटै कारण हो जुन पेशा अवलम्वन गर्दा न अग्रज पुस्ताले सामाजिक सम्मान प्राप्त गर्‍यो न त आफूले नै सामाजिक सम्मान पाउने छाँट देखिन्छ। त्यसकारण सुदूरपश्चिमको ईतिहास, राजनीति, भाषा साहित्य कलालाई अभिव्यक्त गर्ने हुड्केली विधा पुस्तान्तरण हुन कठिन भैसक्यो। एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने कुनै पनि संस्कृती संरक्षण केवल पुस्तकालय र संग्रहालयमा मात्र हुन्छ। समयमै चेतिनु जरुरी छ।

    संस्कृति सर्वस्वीकार्य हुँदै गयो भने त्यसको संरक्षण र सम्बर्द्धन आफैँ हुँदै जान्छ। नयाँ पुस्ताले अवलम्वन गर्न प्रोत्साहित र आकर्षित हुन्छ। त्यस्तो विधामा गायनको डेउडा विधा रहेको छ। यसको उन्नयन यसरी भएको छ कि नयाँ पुस्ता उत्पादक र उपभोक्ता आफै छ। यसले दिने मनोरञ्जन सबै उमेर समूहका मानिसहरूमा ग्राह्य छ। गायक, रचनानाकार र ग्राहक या उपभोक्ता जो पनि हुनसक्छ । यसमा जातीय  भेद लैंगिक भेद, क्षेत्रीय भेद, जस्ता संकिर्ण्ताले स्थान प्राप्त गर्न सकेको छैन। अनि यो विधा त सर्वस्वीकार्य हुन्छ नै। यसको संरक्षण र सम्बर्द्धन सहज हुने भइहाल्यो।

    कुनै पर्व कसैको जातीय भयो भने त्यसलाई सबैको भन्ने अवस्था नि रहन्न। त्यस्ता पर्वहरू नी हाम्रो समाजमा विद्यमान छन्। जसले जातीय विभेद र छुवाछुतलाई संरक्षण गरिरहेकै छन्। तर पनि हिन्दूको महानपर्व भनी शुभकामना आदान प्रदान भइरहेको छ। उहीँ धर्म र संस्कृतिलाई अवलम्वन गर्ने स्वधर्मीहरूलाई विभिन्न पर्वका अनुष्ठानहरूमा बहिष्कार गरेर धर्म र संस्कृतिको संरक्षण र सम्बर्धन हुन सक्दैन्। एकातिर हाम्रो समाज मेरी कृस्मस र ईद मुबारक भनेर सहिष्णुता प्रकट गर्न सक्छ भने अर्कोतर्फ आफ्नै धर्मलाई कठिन बनाउन तयार गरिएका अनेक बाधा र अवरोधहरूलाई अझ कठिन बनाउन पछि परेको छैन। असहिष्णुहरूले सहिष्णुताको नाटक गरेको भन्दा अरू के हुन सक्छ?

    त्यस्ता धेरै विभेद प्रधान पर्वहरू मध्ये सुदूरपश्चिममा धुमधामसँग मनाइने गौरा, गोरा या गमरा पर्व जनैपूर्णिमा पुरुष ब्राह्मण क्षेत्रीहरूले मात्र अभ्यास गरे झै गौरा गोरा या गमरा पर्व महिलास् ब्राह्मण क्षेत्रीले मात्र पूजा आराधना गर्ने पर्व हो। दलित महिलाहरूलाई पूजा आराधना गर्न बर्जित छ यो पर्वमा। तर पनि हिन्दुहरूको महान पर्व भन्ने गरिन्छ। के जसलाई यो पर्व अभ्यास गर्न बर्जित गरिएको छ तिनीहरू हिन्दू होइनन्?

    गौरा पर्व सुदूरपश्चिम, कर्णाली प्रदेशका केही स्थान र भारतको उत्तराञ्चलमा मात्र मनाईने भएपनि यसको सम्बन्ध हिन्दूहरुका आराध्यदेव महेश्वर र देवी पार्वती संग भएकोले यो हिन्दू पर्व नै हो। विश्वभरीका हिन्दूहरुको आस्थाका केन्द्र शिव, महादेव, महेश्वर, पार्वती गौरीका नाममा जातीय छुवाछू र विभेद बचाउने कार्यले हिन्दूधर्मको गरिमा उच्च कायम राख्न सक्तैन्। गौरा पर्वमा निहित जातीय विभेद प्रधानतालाई सुधार गरेर सबै हिन्दू समुदायले अवलम्बन गर्ने बनाउने कि विरोधीहरूलाई विरोध गर्न सहज भैरहने अभ्यास हामीहरूले निरन्तरता दिईरहने?

    यो बहसमा हामी प्रवेश नै गरेका छैनौं। यस्ता अन्य पर्वहरू र अनुष्ठानहरू नी छन्,  ती सबैका बारेमा समय रहदै परिमार्जन र परिस्कार गर्न खुलेर बहस छलफल भएन भने हाम्रा मौलिक पहिचान भनेर गौरव मात्र गरेर संस्कृतिको संरक्षण हुन सक्दैन। संस्कृतिकर्मी, संस्कृतिका अध्येता, संस्कृतिप्रेमी, लोकजीवनका सम्पूर्ण तह र तप्का जुरुक्क उठ्न जरुरी छ। अब कसैलाई दोष दिएर बस्ने समय रहेन अब। समानता र पहिचानको बहस सडकमा छुताछुल्ल भइसकेको छ।