काठमाडौँ– राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कृषि, पर्यटन, लगानीमैत्री वातावरण तथा युवा पलायन नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
छलफलका क्रममा सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्थिर र लगानीमैत्री नीतिगत संरचनामार्फत आर्थिक विकासलाई गति दिन सकिने धारणा राखे।
त्यस्तै सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे। उनका अनुसार मध्यम वर्गका लागि केही सकारात्मक प्रावधान भए पनि कृषि र पर्यटन क्षेत्रको सम्भावना अझ प्रभावकारी रूपमा समेटिन सकेको छैन।
सांसद उर्मिला अर्यालले कृषि वृद्धिदर पाँच प्रतिशत पुर्याउन सके मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गरिन्। उनले मौलिक बीउ संरक्षण, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइन्। साथै मधेस प्रदेशमा देखिएको खानेपानी संकट समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि उनले आग्रह गरिन्।
पर्यटन क्षेत्रबारे सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र कूटनीतिक पहल आवश्यक रहेको बताए। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारत र चीनसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे।
यसैगरी सांसद सुनिलबहादुर थापा ले निरन्तर भइरहेको युवा पलायनलाई रोक्न स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्नु दीर्घकालीन समाधानको आधार हुने उल्लेख गरे।