सेतीमा कर्मचारी भर्ना गर्दा चलखेल हुनुहुँदैन भनेका भट्ट माओवादीबाट निष्काशन - Chaitanya News
  • 2026-05-02
  • 20:22:14
  • शनिबार,बैशाख १९, २०८३
  • सेतीमा कर्मचारी भर्ना गर्दा चलखेल हुनुहुँदैन भनेका भट्ट माओवादीबाट निष्काशन

    सेतीमा कर्मचारी भर्ना गर्दा चलखेल हुनुहुँदैन भनेका भट्ट माओवादीबाट निष्काशन

    धनगढी- सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा चलखेल भइरहेको भन्दै ध्यानाकषर्ण गराउने डिल्लीराज भट्टलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ।

    अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटिको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो।

    नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरेको हो। नगर कमिटि सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेका कारण भट्टलाई कारवाही गरिएको बताए।

    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा चलखेल भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.हेमराज पाण्डेलाई विधिसम्मत रुपमा काम गर्न ध्यानाकर्षण गराएका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटिका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टिकरण सोधेका थिए।

    ‘तपाईलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेश गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टिकरण पत्रमा भनिएको थियो।

    भट्टले दुई भित्र जवाफ पेश गरेको भएपनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्काशन गरिएको हो। नगर सचिव भट्टराईले प्रादेशिक अस्पतालको कारण सहायक भएपनि अन्य समयमा पनि पार्टी हित विपरीत काम गरेकाले कारवाही गरेको दाबी गरेका छन्।

    भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए। प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले पार्टीले गरेको कारवाहीका सम्बन्धमा आन्तरिक विषय भएको बताए।

    उनले पार्टी कमिटि र नेतृत्वसँग कारवाहीको विषयमा आफूले छलफल गरिरहेको बताउदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थ पूती गर्न ऐन, कानून विपरीत काम गर्न नसक्ने बताएका छन्। प्रादेशिक अस्पतालले नवौँ तहका चिकित्सकसहित विभिन्न तहका कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया विवादित बनेको थियो।

    अस्पतालले कोरोना महामारीका बेला बनाइएको मापदण्डमा टेकेर स्वास्थ्यकर्मी भर्ना थालेको भन्दै उजुरी समेत परेको थियो। प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले सामाजिक मन्त्रालयलाई महामारीका बेलाको मापदण्डको सुविधा जुनसुकै बेला लिन नपाउने राय दिएको थियो।