निजामती सेवाका कति दरबन्दी छन् रिक्त? - Chaitanya News
  • 2026-11-20
  • 23:18:01
  • शुक्रबार,मंसिर ०५, २०८३
  • निजामती सेवाका कति दरबन्दी छन् रिक्त?

    निजामती सेवाका कति दरबन्दी छन् रिक्त?

    काठमाडौं- निजामती सेवातर्फ निकै ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन्। झण्डै ५० हजार दरबन्दी रिक्त रहेको महालेखाको कार्यालयले जनाएको छ।

    महालेखाको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारमा झण्डै ५० हजार दरबन्दी रिक्त रहेका हुन्।

    तीनै तहको सरकारमा कूल १ लाख ३६ हजार १ सय २२ दरबन्दी रहेकोमा ८५ हजार ६ सय ५६ पदमा कर्मचारीहरू कार्यरत रहेको र ५० हजार ४ सय ६६ पद रिक्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    महालेखाले संघमा ३८ हजार १ सय २५कार्यरत रहेको र १५ हजार ४ सय ६ रिक्त रहेको उल्लेख गरेको छ। स्थानीय तहमा २८ हजार ९ सय ८५ कार्यरत रहँदा ३६ हजार २ सय ८४ पद रिक्त छन्।

    प्रदेशमा ६ हजार ७५ दरबन्दी रिक्त रहेको छन्। त्यहाँ कार्यरत जनशक्ति ११ हजार २ सय ४७ रहेको प्रतिवेदनमा उल्लेख छ।

    गत वर्ष १६ निकायमा ९ हजार ५१ अस्थायी दरबन्दी स्वीकृत गरेको भन्दै महालेखाले सो कार्य गलत रहेको निष्कर्ष निकालेको छ। महालेखाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि औचित्य पुष्टि नगरी विशिष्ट श्रेणीको दरबन्दी ५ बाट बढाएर ९ पुर्‍याएको जनाएको छ।

    महालेखाले दरबन्दी पुनरावलोकन गर्दा कार्यबोझअनुसार सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने गरी गर्न सरकारको गम्भीर ध्यानाकृष्ट गराएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै केही अधिकारीले प्रधानमन्त्री कार्यालयमा ९ वटा सचिवको दरबन्दी राख्नु गलत र त्रृटिपूर्ण रहेको बताएका छन्।