काठमाडौं- सार्थक ढकाल २०७१ जेठ २७ गते काठमाडौंमा जन्मिए। उनी अहिले ९ वर्षका भए। उमेरले सानै भए पनि प्रतिभाले भने निकै सक्षम छन् र नाम जस्तै सार्थक पनि। उनको सार्थकता बालबालिकालाई बालज्ञान प्रदान गर्ने खालका भिडियो सामग्री निर्माणमा छ।
काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलमा ४ कक्षामा अध्ययनरत सार्थकले युट्युव च्यानल खोलेका छन्। उनले ‘स्मार्ट सार्थक’ नामक युट्युव च्यानल सञ्चालनमा ल्याएको तीन वर्ष भयो। सोही च्यानलमार्फत उनले बालबालिकाका लागि उपयोगी भिडियो सामग्री अपलोड गर्दै आएका छन्।
सार्थकको च्यानललाई चार सय ७८ जनाले सस्क्राइव गरेका छन्। उनले युट्युवमा १ सय २७ रचनात्मक भिडियो अपलोड गरिसकेका छन्।
सार्थकलाई उक्त कर्ममा प्रेरित गर्न उनका बुवा-आमाको ठूलो भूमिका छ। ‘सार्थकका बाबाले लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रेरित हुने खालका सामग्री तयार पारेर आफ्नो युट्युव च्यानलमा राख्नुहुन्थ्यो। बाबुलाई पनि त्यसैको छाप पर्यो। सानैदेखि नृत्य गर्न, चित्र बनाउन, भिडियो बनाउन र फुटवल खेल्नमा सार्थकको निकै रुची थियो। त्यही रुचीले पनि उसलाई भिडियो बनाउन प्रेरित गरेको हुनुपर्छ,’ उनकी आमा यमुना पन्त ढकाल भन्छिन्।
सार्थकले केही भिडियो नर्सरी पढ्दानै बनाएको उनले बताइन्। ‘एलकेजी, युकेजी, एक, दूईमा बाबुले केही भिडियो बनाए। तीनको परीक्षा दिएपछि भिडियो बनाउने कार्यलाई निरन्तरता दिइरहेका छन्,’ उनले भनिन्।
उनका बुवा तुल्सीराम ढकाल आफूले बच्चालाई सानैदेखि खेलाउँदै पढाउँदै आएको बताउँछन्। मनोभाव बुझेर बालबालिकालाई अध्ययन गराउनुपर्ने उनले बताए। ‘बालबालिका काँचो माटो जस्तै हुन्। उनीहरूमाथि अभिभावकले आफ्नो विचार लाद्नु हुँदैन। उनीहरूको भावनाको कद गर्दै खेल्दै अध्ययन गराउँदै गर्नुपर्छ। यसरी अध्ययन गराउँदा बालबालिकालाई चाँडो सिकाउन सकिन्छ’, उनले भने।
भिडियो बनाउँदै रमाउँदै पढाउँदा पढाउँदै सार्थकलेमा पनि सोही गुणको विकास भएको ढकालको बुझाइ छ। उनले सार्थकले तयार पारेको भिडियो इडिट नगरेरै युट्युवमा राख्ने गरेको बताए। यसले उनमा आत्मविश्वास बढ्ने आफूहरूको विश्वास रहेको ढकालले बताए।
आफूले पाउने प्रतिक्रियाले सार्थक दंग रहेको र यसले उनलाई थप प्रेरित गरिरहेको उनीहरूको बुझाइ छ। उनको सक्षमताको कदर गर्दै विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा सार्थकलाई थुप्रै शीर्षकमा बोल्न लगाउने विद्यालयका लेखा प्रमुख दीपक जोशीले बताए।
उनले सार्थकमा अद्वितीय क्षमता रहेको बताए। सार्थकको क्षमता प्रस्फुटनका लागि विद्यालयले पनि सोही अनुसारको वातावरण सिर्जना गरिरहेको जोशीको भनाइ छ। हुने विरुवाको चिल्लो पात भने झैँ सार्थकमा भविश्यमा देशको असल नागरिक हुने गुण रहेको जोशीले बताए।